वीरगंज (पर्सा), ३ मंसिर । बालविवाह रोकथामका लागि पर्साको पटेर्वा सुगौली गाउँपालिकाले लागू गरेको विवाहपूर्व उमेर प्रमाणीकरण तथा सिफारिस प्रणालीलाई थप प्रभावकारी बनाउने पहल गरिएको छ । बालविवाहका घटना हुनै नदिन विवाहअघि नै उमेर सुनिश्चित गर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्ने विषयमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।
दिव्य विकास स्रोत केन्द्र (डीडीआरसी), पर्सा र एक्शनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा गाउँपालिकामा लागू रहेको विवाहपूर्व उमेर प्रमाणीकरण प्रणालीको प्रभावकारिता, कार्यान्वयनका चुनौती र बालविवाह रोकथामका उपायबारे छलफल भएको हो ।
गाउँपालिकाका सबै वडामा २०८२ सालदेखि लागू गरिएको व्यवस्थाअनुसार विवाह गर्न लागेका दुवै पक्षको उमेर जन्मदर्ता वा नागरिकता प्रमाणपत्रका आधारमा यकिन गरिन्छ । दुवै जनाले २० वर्ष उमेर पूरा गरेको प्रमाणित भएपछि मात्रै सम्बन्धित वडा कार्यालयले बालविवाह नभएको सिफारिस दिने प्रावधान छ ।
विवाहलाई सामाजिक तथा पारिवारिक निर्णयका रूपमा मात्रै नहेरी कानुनी उमेरको सुनिश्चिततासँग जोड्ने उद्देश्यले ल्याइएको यो प्रणालीले बालविवाह हुनुअघि नै रोकथाम गर्न सक्ने अपेक्षा गरिएको छ । तर, यसको प्रभावकारिताका लागि वडा तहबाट हुने सिफारिस प्रक्रियामा कडाइ र समुदायस्तरमा निरन्तर निगरानी आवश्यक रहेको कार्यक्रममा औँल्याइएको थियो ।
सहभागीहरूले बालविवाह अन्त्य गर्नु सरकार वा कुनै एउटा संस्थाको मात्र जिम्मेवारी नभई सामूहिक सामाजिक दायित्व भएको बताएका थिए । यसका लागि स्थानीय सरकार, नागरिक समाज, अभिभावक र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै बालविवाहविरुद्ध जनचेतना फैलाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए । साथै, आ–आफ्नो क्षेत्रबाट बालविवाह रोक्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष तथा प्रतिनिधि, नागरिक समाजका अगुवा र विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
विवाहपूर्व उमेर प्रमाणीकरण तथा सिफारिस प्रणालीलाई व्यवहारमै कडाइका साथ लागू गर्न सके बालविवाह नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुने र बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा सुरक्षित भविष्यको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस् !