कलैया (बारा), १५ कात्तिक । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पुर्याइएको छ । घटनालाई लिएर प्रतिनिधिसभा सदस्य रहबर अन्सारी र आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र घाइतेहरूको उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय १५ वर्षीय आदित्य गम्भीर घाइते भएका थिए । झडपका क्रममा तोडफोड तथा मोटरसाइकलमा आगजनीसमेत भएको थियो । गम्भीर अवस्थामा रहेका उनलाई आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगेर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
घाइते बालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी आइतबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । उनले आदित्यका बुबा तथा परिवारका सदस्यसँग भेट गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अन्सारीले आदित्यको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै वीरगञ्जमा प्रारम्भिक उपचार गर्ने स्वास्थ्यकर्मी तथा काठमाडौंमा उपचाररत चिकित्सकीय टोलीप्रति आभार व्यक्त गरेका छन् । घाइते बालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचार र परिवारलाई आवश्यक सहयोगका लागि आफूहरू साथमा रहने बताएका छन् ।
घटनालाई थप गम्भीर बनाउँदै सांसद अन्सारीले प्रहरीबाट गोली चल्नुपर्ने परिस्थिति कसरी निर्माण भयो भन्ने विषयको सुरुदेखि अन्त्यसम्म निष्पक्ष र तथ्यपरक छानबिन हुनुपर्ने माग गरेका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्ति जुनसुकै पदमा रहे पनि वा राजनीतिक संरक्षण प्राप्त भएपनि कानुनी कारबाहीबाट उम्किन पाउनु हुँदैन । राजनीतिक असहमतिको मूल्य निर्दोष नागरिकले रगत बगाएर चुकाउनुपर्ने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ ।
यसैबीच, आजपा मधेश प्रदेश समितिले पनि घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्ष उमेश कुशवाहाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी र सर्वसाधारणबीच झडप भएर गोली चल्ने अवस्था सिर्जना हुनु दुःखद र गम्भीर भएको बताएका छन् । आजपाले गोली लागेर घाइते भएका आदित्य पासवानलाई तत्काल उच्चस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउन तथा घटनामा घाइते भएका अन्य सबैको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । साथै, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।
अध्यक्ष कुशवाहाले घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनाव थप चर्किन नदिन जनप्रतिनिधि र प्रहरी प्रशासनलाई जिम्मेवार तथा संयमित भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । स्थानीय बुद्धिजीवी, समाजका अगुवा, युवा तथा राजनीतिक र सामाजिक क्षेत्रका प्रतिनिधिहरूलाई समेत आपसी सद्भाव कायम राख्दै शान्ति सुरक्षा स्थापित गर्न सहयोग गर्न अपिल गरेका छन् ।
फेटामा अस्पताल उद्घाटनजस्तो सार्वजनिक विषयलाई लिएर भएको विवाद प्रहरीको गोली प्रहार, बालक गम्भीर घाइते, तोडफोड र आगजनीसम्म पुग्नुले घटनाको निष्पक्ष छानबिन र जवाफदेहिताको प्रश्नलाई थप पेचिलो बनाएको छ । सांसद अन्सारी र आजपा दुवैले पीडितलाई न्याय, घाइतेको उपचार र दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।
अब घटनाको वास्तविकता सार्वजनिक गर्ने, गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको जवाफ दिने र दोषी देखिएकालाई कानुनी दायरामा ल्याउने जिम्मेवारी सरकार तथा सम्बन्धित सुरक्षा निकायमाथि परेको छ । 




























प्रतिक्रिया दिनुहोस् !