वीरगंज (पर्सा), १४ कात्तिक । पाकेको धान भित्र्याउने र हिउँदेबाली हुर्काउने समयमा परेको बेमौसमी अविरल वर्षाले पर्साका किसानलाई दोहोरो मारमा पारेको छ । शुक्रबार बिहानदेखि लगातार परेको वर्षाका कारण ठोरी गाउँपालिकामा तोरी, सुर्ती तथा विभिन्न हिउँदे तरकारीबालीमा ठूलो क्षति पुगेको छ । खेतमा लगाएको बाली नष्ट भएपछि किसानको लगानी डुब्ने जोखिम बढेको छ भने पाकेको धान भित्र्याउनसमेत कठिनाइ भएको छ ।
पर्सामा तोरी खेती र सुर्ती उत्पादनका लागि परिचित ठोरी गाउँपालिकामा वर्षाको असर बढी देखिएको छ । यहाँका किसानले लगाएका तोरी, सुर्ती, राजमा, आलु, काउली, बन्दा, लसुन, मूला र भन्टालगायतका बाली प्रभावित भएका छन् । वर्षाले एकातिर भर्खरै छरिएको बीउ नष्ट गरेको छ भने अर्कोतिर रोपिसकिएको बालीमा समेत क्षति पुर्याएको किसानहरूको गुनासो छ ।
ठोरी गाउँपालिका–४ विजयबस्तीका किसान अर्जुन श्रेष्ठका अनुसार यस क्षेत्रका किसानको प्रमुख नगदेबाली सुर्ती हो । सुर्ती रोपाइँ सम्पन्न भइसकेको अवस्थामा परेको अविरल वर्षाले खेतीमा ठूलो नोक्सानी पुर्याएको उनले बताए । अब पुनः रोपाइँ गर्न आवश्यक बिरुवा पाउन कठिन हुने र खेती गर्ने उपयुक्त समयसमेत बितिसकेकाले किसान थप समस्यामा परेको श्रेष्ठको भनाइ छ ।
पर्सामा सबैभन्दा बढी तोरी खेती हुने ठोरी गाउँपालिका–५ सुवर्णपुरमा पनि वर्षाले व्यापक असर पारेको छ । प्रत्येक वर्ष करिब ६ सय बिघा क्षेत्रफलमा तोरी खेती हुँदै आएको सुवर्णपुरमा यस वर्ष अधिकांश खेती प्रभावित भएको वडाध्यक्ष अष्टबहादुर लोप्चनले जानकारी दिए । उनका अनुसार वडाको करिब ९५ प्रतिशत खेतीयोग्य जमिनमा तोरी छरिसकिएको थियो। किसानले दुई पटक खेत जोतेर रासायनिक मलको व्यवस्था गर्दै बीउ छरेका थिए । तर, बीउ उम्रिन नपाउँदै लगातार वर्षा भएपछि लगाइएको तोरी खेती नष्ट भएको उनले बताए ।
किसानले यस वर्ष तोरी खेतीका लागि आवश्यक डीएपी, युरिया र पोटासजस्ता रासायनिक मलसमेत सहज रूपमा पाउन सकेका थिएनन् । मलको अभावबीच जसोतसो बीउ र मल जुटाएर खेती गरेका किसानको मेहनत वर्षाले खेर गएपछि उनीहरू निराश बनेका छन् । वर्षाले पहिलो चरणको खेती नै बिगारेपछि अब पुनः बाली लगाउन किसानले बीउबिजन खरिद, खेत जोताइ र मलखादमा थप खर्च गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष लोप्चनले बताए । यसले उत्पादन लागत बढाउनुका साथै किसानमाथि थप आर्थिक भार पर्ने देखिएको छ ।
धान भित्र्याउन पनि समस्या, अन्य पालिकामा क्षतिको जोखिम
ठोरीमा देखिएको क्षति अन्य पालिकामा पनि फैलिएको हुन सक्ने भन्दै जिल्लाभरका किसान चिन्तित छन् । विशेषगरी खेतमा पाकेर काट्ने तयारीमा रहेको धान वर्षाका कारण प्रभावित हुने जोखिम बढेको छ । लगातारको पानीले खेतमा चिस्यान र पानी जम्ने अवस्था सिर्जना हुँदा धान काट्न, सुकाउन तथा सुरक्षित रूपमा भित्र्याउन समस्या भएको छ ।
त्यस्तै, जिल्लाका विभिन्न स्थानमा लगाइएका हिउँदे तरकारीबाली पनि अत्यधिक वर्षा र चिस्यानका कारण प्रभावित हुन सक्ने देखिएको छ । ठोरीका किसानले राजमा, आलु, काउली, बन्दा, लसुन, मूला र भन्टालगायतका बालीमा समेत नोक्सानी भएको बताएका छन् ।
बेमौसमी वर्षाले किसानको महिनौँको मेहनत र लगानी जोखिममा पारेको छ । एकातिर नयाँ बाली लगाउने तयारी प्रभावित भएको छ भने अर्कोतिर पाकेको धानसमेत सुरक्षित रूपमा भित्र्याउन नसक्दा किसानको आम्दानीमा असर पर्ने देखिएको छ ।
वर्षाबाट भएको क्षतिको यकिन विवरण संकलन गरी प्रभावित किसानको पहिचान गर्न तथा आवश्यक राहत र कृषि सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी पुनः खेती गर्नुपर्ने किसानलाई बीउबिजन र मलखादको व्यवस्था तथा सम्भावित क्षतिका आधारमा राहत उपलब्ध गराउन ढिलाइ गर्न नहुने देखिन्छ ।





























प्रतिक्रिया दिनुहोस् !