जितपुरसिमरा (बारा), १३ कात्तिक । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नेपाल आयल निगमको डिपो नजिक पथलैया–हेटौंडा सडकखण्डमा दिउँसो करिब १२ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ गइरहेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्यांकरमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो । त्यसलगत्तै हाइसको पछाडि रहेको अनटेस्ट मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ट्यांकर चालक चेतनाथ खरेल, ईभी चालक आशिष मल्ल, वीरगंज महानगरपालिका–२ की समिना खातुन र उनकी छोरी सखीना खातुनसहित १० जना घाइते भएका छन् । घाइते हुनेमा विभिन्न स्थानका यात्रु र मोटरसाइकल चालकसमेत रहेका छन् ।
उनीहरूको हात, खुट्टा, टाउको र आँखालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । सबै घाइतेको अमलेखगञ्जस्थित नोभाकेयरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि ईभी हाइस सडकमा सञ्चालन गर्न नसकिने अवस्थामा पुगेकाले केही समय सडकमा एकतर्फी आवागमन गरिएको थियो । दिउँसो १ बजेर ५५ मिनेटदेखि भने सडकमा दुईतर्फी यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्यांकर, ईभी हाइस र मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस् !