फतुवाविजयपुर (रौतहट), १३ कात्तिक । फरार प्रतिवादीहरूको खोजीमा खटिएका प्रहरी जवान सुभाष चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राँगी टोलस्थित दुधिअवा–बालचनपुर सडकखण्डमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् ।
बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत ३५ वर्षीय चौधरी र उनकी ३० वर्षीया श्रीमती खड्का मोटरसाइकलमा सवार थिए । दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि वीरगंजस्थित बयोधा अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । मोटरसाइकलको पछाडि सवार खड्काको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेकाले बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहले बताए ।
फरार प्रतिवादीको खोजीमा सादा पोसाकमा खटिएका थिए दम्पती
प्रहरी निरीक्षक साहका अनुसार रौतहटको गुजरा नगरपालिका–४ पोखरिभिण्डा घर भएका चौधरी र खड्का फरार प्रतिवादीहरूको खोजी तथा पहिचानका लागि बाराबाट रौतहटतर्फ खटिएका थिए । दुवै जना सादा पोसाकमा मोटरसाइकलमार्फत काममा गएका थिए ।
श्रीमान्–श्रीमतीसँगै मोटरसाइकलमा आवतजावत गर्दा फरार प्रतिवादीहरूले सजिलै पहिचान गर्न नसक्ने भएकाले त्यसरी खटाइएको प्रहरी निरीक्षक साहले बताएका छन् । ‘दुवै जना श्रीमान्–श्रीमती मोटरसाइकलमा जाँदा फरार प्रतिवादीहरूले थाहा पाउँदैनन् भनेर खटाएको हुँ । गाउँबाट फर्कंदै गर्दा दुःखद घटना भयो,’ उनले भने । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी दुधिअवाबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस् !