वीरगंज (पर्सा), १० कात्तिक । रातिको समयमा हुने सवारी दुर्घटनाको जोखिम न्यूनीकरण र यात्रु सुरक्षालाई प्राथमिकता दिँदै पर्सामा बसपार्कबाट सञ्चालन हुने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै प्रस्थान गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । स्थानीय प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याएका हुन् ।
नयाँ व्यवस्थाअनुसार दिवा सेवाका बस तथा अन्य सम्बन्धित सवारीसाधनले निर्धारित समयभित्रै काउन्टरबाट यात्रा सुरु गर्नुपर्नेछ । तोकिएको समयपछि दिवा सेवाका नाममा सवारीसाधन प्रस्थान गराउँदा यात्रुहरू रातिको समयमा लामो दूरीको यात्रामा पर्ने र दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले समयसीमा तोकिएको सम्बन्धित निकायले जनाएका छन् ।
यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा यातायात व्यवसायीहरूले रातिको समयमा लामो दूरीको यात्रा गर्नुपर्ने यात्रुलाई रात्रि बस सेवा प्रयोग गर्न आग्रह गरेका छन् । यात्रामा निस्कनुअघि सम्बन्धित काउन्टरबाट बस छुट्ने समय यकिन गर्नसमेत यात्रुहरूलाई सुझाव दिइएको छ ।
यसअघि २०८३ वैशाख २४ गते बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्लामा सवारी आवागमन तथा यात्रु सुरक्षासम्बन्धी बैठकले दिवा सेवाका सवारीसाधनको प्रस्थान समय व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासन, ट्राफिक प्रहरी र यातायात व्यवसायीले पहल थालेका हुन् ।
निर्णय कार्यान्वयनमा आएपछि यातायात व्यवसायी जगन्नाथ साह, अफताब आलम र सन्तोष साहलगायतले यसको स्वागत गरेका छन् । उनीहरूले यात्रुको सुरक्षालाई केन्द्रमा राखेर गरिएको व्यवस्थाले सुरक्षित यातायात सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यात्रुहरूले पनि निर्णयप्रति सकारात्मक प्रतिक्रिया जनाएको जनाइएको छ ।
निर्धारित समयसीमा प्रभावकारी रूपमा लागू भएमा रातिको समयमा हुने सम्भावित दुर्घटनाको जोखिम घटाउनुका साथै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, निर्णयको प्रभावकारिता सुनिश्चित गर्न बसपार्क तथा सवारीसाधन छुट्ने काउन्टरहरूमा नियमित निगरानी र अनुगमन आवश्यक देखिएको छ ।
सम्बन्धित निकायले नियमको पालना गर्न यातायात व्यवसायीलाई आग्रह गर्दै यात्रु सुरक्षाका लागि निर्धारित समय र प्रस्थान व्यवस्थालाई अनिवार्य रूपमा पालना गर्न अनुरोध गरेका छन् ।

























प्रतिक्रिया दिनुहोस् !