वीरगंज (पर्सा), ९ कात्तिक । सांस्कृतिक कार्यक्रमका नाममा भोजपुरी भाषासँग जोडेर अश्लील गतिविधि प्रस्तुत गरिएको भन्दै वीरगंजका छ वटा भाषा, साहित्य तथा संस्कृति संरक्षणसम्बन्धी संस्थाले त्यसलाई तत्काल रोक्न माग गरेका छन् । ती संस्थाले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदै भोजपुरी भाषाको गरिमा र सांस्कृतिक पहिचानमाथि आँच पुग्ने गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
वीरगंजमा पछिल्लो समय विभिन्न सांस्कृतिक कार्यक्रमका क्रममा अश्लील गतिविधि प्रस्तुत हुने गरेको भन्दै संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । भोजपुरी भाषा र संस्कृतिको नाममा अमर्यादित प्रस्तुति दिनु यसको समृद्ध साहित्यिक तथा सांस्कृतिक विरासतलाई गलत ढङ्गले चित्रण गर्नु भएको उनीहरूको ठहर छ ।
ज्ञापनपत्रमा भोजपुरी भाषा केवल बोलचालको माध्यम मात्र नभई समृद्ध साहित्य, उत्कृष्ट गीत–सङ्गीत र विविध लोकपरम्पराको धनी भाषा भएको उल्लेख गरिएको छ । निर्गुण, सामा, कजरी, चैतावर, संस्कार गीत तथा लोकनृत्यजस्ता परम्पराले भोजपुरी संस्कृतिलाई विशिष्ट पहिचान दिएको संस्थाहरूले जनाएका छन् ।
त्यसैगरी, सोल्टी–बिजांभार, सतीबिहुला र आल्हा–उदलजस्ता लोकनाट्य परम्पराले समेत भोजपुरी भाषाको सांस्कृतिक र साहित्यिक सम्पन्नता झल्काउने उनीहरूको भनाइ छ । यस्तो ऐतिहासिक र मौलिक विरासत बोकेको भाषालाई अश्लीलतासँग जोडेर प्रस्तुत गर्नु भाषा र संस्कृतिप्रतिकै अपमान भएको ज्ञापनपत्रमा उल्लेख छ ।
अश्लील गतिविधि नरोकिए आन्दोलन गर्ने चेतावनी
संस्थाहरूले सांस्कृतिक कार्यक्रमलाई मर्यादित, सभ्य र भोजपुरी संस्कृतिको मौलिकताअनुरूप बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । भोजपुरी भाषाको वास्तविक पहिचानलाई ओझेलमा पार्ने गतिविधि रोक्न प्रशासनले आवश्यक कदम चाल्नुपर्ने उनीहरूको माग छ ।
ज्ञापनपत्रमा आगामी दिनमा पनि यस्ता गतिविधि दोहोरिए विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ । भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि प्रशासन तथा सरोकारवाला निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा संस्थाहरूले जोड दिएका छन् ।
ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाउनुका साथै जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज महानगरपालिका, अन्य स्थानीय तह तथा गैरसरकारी सङ्घसंस्थालाई समेत बोधार्थ पठाइएको छ ।
भोजपुरी पहिचान जोगाउन छ संस्थाको संयुक्त पहल
भोजपुरी भाषाको मौलिकता, सांस्कृतिक पहिचान र साहित्यिक विरासतको संरक्षण गर्ने उद्देश्यले नेपाल भोजपुरी समाज, भोजपुरी प्रतिष्ठान वीरगंज, भोजपुरीया उडान, बृहस्पती फाउण्डेशन नेपाल, वीरगंज कलाकार समाज र मधेस साहित्य महोत्सव आयोजक समितिले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
ती संस्थाले भोजपुरी संस्कृतिको वास्तविक स्वरूपलाई संरक्षण गर्दै सांस्कृतिक कार्यक्रमलाई मर्यादित बनाउन प्रशासन र आयोजक पक्षको ध्यानाकर्षण गराएका छन् ।


























प्रतिक्रिया दिनुहोस् !