मोतिहारी (बिहार), ९ कात्तिक । भारतको पूर्वी चम्पारण जिल्लामा फिल्म हेर्न मोतिहारी जाँदै गरेका चार साथी सवार स्कार्पियो गाडी दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हरसिद्धि थाना क्षेत्रअन्तर्गत गायघाट चोकनजिक धर्मकाँटामा मकै लोड गरिएको ट्र्याक्टरसँग स्कार्पियो ठोक्किँदा आइतबार राति उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा स्कार्पियोमा सवार मनु कुमार सिंह र शुभम कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते आदित्य कुमार सिंहलाई थप उपचारका लागि पटना रेफर गरिएको छ । अर्का घाइते युवकको पहिचान खुल्न सकेको छैन ।
प्राप्त जानकारीअनुसार पूर्वी चम्पारण जिल्लाको हरसिद्धि थाना क्षेत्रस्थित सेवराहा गाउँबाट चार जना साथी निजी स्कार्पियो गाडीमा फिल्म हेर्न मोतिहारीका लागि निस्किएका थिए । उनीहरू गायघाट चोकबाट केही अगाडि रहेको धर्मकाँटानजिक पुगेपछि सडक किनारमा रोकिराखिएको मकै लोड गरिएको ट्र्याक्टरसँग स्कार्पियो ठोक्किएको थियो ।
टक्कर यति भीषण थियो कि स्कार्पियो गाडी क्षतिग्रस्त भयो र त्यसमा सवार चारै जना भित्रै फसे । दुर्घटनाको आवाज सुनेपछि स्थानीय बासिन्दा घटनास्थलमा जम्मा भएका थिए । घटनाबारे जानकारी पाएलगत्तै हरसिद्धि प्रहरी र डायल ११२ को टोली घटनास्थलमा पुगेर चारै जनालाई उद्धार गरी अस्पताल पुर्याएको थियो । तर, चिकित्सकले मनु र शुभमलाई मृत घोषणा गरे ।
साथीको बिहे तय, घरमा शहनाईको सट्टा चित्कार
सामान्य रमाइलोका लागि फिल्म हेर्न निस्किएका साथीहरूको यात्रा दुई परिवारका लागि जीवनकै सबैभन्दा पीडादायी क्षण बनेको छ । विशेषगरी मनु कुमार सिंहको घरमा विवाहको तयारी चलिरहेका बेला भएको यो दुर्घटनाले परिवारको खुसी एकैछिनमा शोकमा परिणत गरेको छ ।
मृतक मनु कुमार सिंह चडरहिया पञ्चायतका पूर्वमुखिया मुरारी सिंहका छोरा हुन् । उनको विवाह हालै पश्चिम चम्पारणमा तय भएको थियो । घरमा विवाहको तयारी र खुसीयालीको वातावरण थियो । तर, विवाहको शहनाई बज्नुअघि नै छोराको मृत्युको खबर आएपछि परिवार शोकमा डुबेको छ । छोराको शव देखेपछि पूर्वमुखिया मुरारी सिंह स्तब्ध बनेका छन् । उनका आँखाबाट आँसु रोकिएका छैनन्। मनुका परिवारजनको अवस्था देखेर गाउँलेसमेत भावविह्वल भएका छन् ।
त्यस्तै, दुर्घटनामा ज्यान गुमाएका शुभम कुमार सेवराहा निवासी अजय सिंहका छोरा हुन् । जवान छोराको असामयिक निधनले उनको परिवारमा पनि रुवाबासी मच्चिएको छ । घटनाले सेवराहा गाउँ नै शोकमा डुबेको छ । मानिकपुर हसुआहाकी मुखिया कस्तुरी खानसहित स्थानीय बासिन्दाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा
हरसिद्धिका अपर थानाध्यक्ष अविनाश कुमारका अनुसार दुर्घटनामा मृत्यु भएका दुवै युवकको शवको राति नै पोस्टमार्टम गराई परिवारलाई बुझाइएको छ । प्रहरीले दुर्घटनामा संलग्न स्कार्पियो र ट्र्याक्टर दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
हँसिलो वातावरणमा फिल्म हेर्न निस्किएका चार साथीमध्ये दुई जना घर फर्किन नपाउँदै सदाका लागि बिदा भए । एक युवकको विवाहको तयारी भइरहेको घरमा अहिले खुसीको सट्टा चित्कार गुञ्जिरहेको छ भने अर्कोतर्फ जवान छोराको मृत्युले अर्को परिवार पनि गहिरो शोकमा डुबेको छ । 

























प्रतिक्रिया दिनुहोस् !