वीरगंज (पर्सा), २१ असोज । बालअधिकार संरक्षण र बालबालिकाको अर्थपूर्ण सहभागितालाई संस्थागत गर्ने उद्देश्यले पर्सामा पहिलोपटक १५ सदस्यीय जिल्लास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा सक्रिय बालक्लब सञ्जाललाई एउटै संरचनामा जोड्दै बालबालिकाका साझा सवाललाई जिल्लास्तरमा उठाउने उद्देश्यले सञ्जाल गठन गरिएको हो ।
जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजित भेलाबाट वीरगंज महानगरपालिकाकी करिश्मा गुप्ताको अध्यक्षतामा जिल्ला बालक्लब सञ्जाल गठन गरिएको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा धोबिनी गाउँपालिकाकी समसुन खातुन, सचिवमा बहुदरमाई नगरपालिकाका सलमान हवारी तथा सहसचिवमा सखुवा प्रसौनी गाउँपालिकाका सुरज साह चयन भएका छन् । जिल्लाका अन्य स्थानीय तहको समेत प्रतिनिधित्व सुनिश्चित हुने गरी १५ सदस्यीय सञ्जाल बनाइएको जनाइएको छ ।
नवनिर्मित सञ्जालले पर्साका बालबालिकासँग सम्बन्धित साझा समस्या, अधिकार र सवाललाई स्थानीय तहबाट जिल्लास्तरसम्म प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ । साथै बालअधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि, बालमैत्री नीति तथा कार्यक्रम निर्माणमा सहजीकरण र बालबालिकामाथि हुने हिंसा तथा विभेद न्यूनीकरणका लागि सञ्जालले भूमिका खेल्ने जनाइएको छ ।
स्थानीय तहमा रहेका बालक्लब सञ्जालबीच समन्वय र सहकार्यलाई संस्थागत गर्दै बालबालिकाको आवाजलाई निर्णय प्रक्रियासम्म पुर्याउनु नवगठित जिल्ला सञ्जालको प्रमुख उद्देश्य रहेको सहभागीहरूले बताएका छन् । बालबालिकालाई केवल कार्यक्रमका सहभागीका रूपमा सीमित नराखी उनीहरूसँग सम्बन्धित नीति र निर्णय निर्माणमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्जालले पहल गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरनप्रसाद कुर्मी तथा जिल्ला समन्वय अधिकारी उमेशराज रिमालको विशिष्ट आतिथ्यता रहेको थियो । भेलामा दिब्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाकी बालकल्याण अधिकारी सावित्री कुमारी भण्डारी, बाल हेल्पलाइन १०९८ का कृष्णप्रसाद यादव, दिब्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरीलगायत विभिन्न स्थानीय तहका प्रतिनिधि तथा बालक्लब सञ्जालका प्रतिनिधिहरू सहभागी थिए ।
जिल्लास्तरीय सञ्जाल गठनसँगै पर्साका विभिन्न स्थानीय तहमा रहेका बालक्लबहरूबीच समन्वय बढ्ने र बालबालिकाका सवाललाई साझा एजेन्डाका रूपमा अघि बढाउन सहज हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । कार्यक्रमको सहजीकरण दिब्य विकास स्रोत केन्द्र पर्साका कार्यक्रम अधिकृत संजय चौधरीले गरेका थिए । 


















प्रतिक्रिया दिनुहोस् !