भङ्गाहा (महोत्तरी), २० असोज । चाडपर्व सुरु हुनै लाग्दा महोत्तरीका ओल किसानको व्यस्तता बढेको छ । दसैँ, तिहार र छठ नजिकिँदै गएपछि किसान अहिले ओल खन्ने र भण्डारण गर्ने काममा जुटेका छन् । माटोमुनि फल्ने ओल खनेर राखेपछि महिनौँसम्म ताजा रहने भएकाले किसानले चाडपर्वलाई लक्षित गरेर अहिले नै उत्पादन संकलन गर्न थालेका हुन् । भङ्गाहा–४ रामनगरका किसान रामसागर यादव अहिले खेतीपातीको अन्य कामको चाप कम भएकाले ओल खन्ने काममा लागेको बताउँछन् ।
“अहिले खेतीपातीको अन्य धपेडी छैन । नवरात्र लागेपछि चाडपर्वको तयारीमा लाग्नुपर्छ। त्यसैले ओल खन्न लागेका छौँ,” यादवले भने, “अहिले खनेर राखे दसैँ, दीपावली र छठका बेला बजार पुर्याउने काममात्र रहन्छ ।” यादवसँगै उनका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव पनि ओल खन्ने तयारीमा छन् । मधेसमा ओललाई परम्परागत रूपमा महँगो तरकारीका रूपमा लिइन्छ । अन्य तरकारीको तुलनामा यसको मूल्य राम्रो पाइने र उत्पादनसमेत राम्रो हुने भएकाले महोत्तरीका किसान ओलखेतीतर्फ आकर्षित हुँदै आएका छन् ।
जिल्लाका भङ्गाहा, बर्दिबास र गौशाला नगर क्षेत्रका विभिन्न बस्तीमा ओलखेती गरिएको छ । बलवा नगरपालिका–१० धमौरा, लोहारपट्टी तथा मटिहानी नगरपालिकाका अधिकांश बस्तीका किसानले समेत ओल लगाएका छन् । बलवा–१० धमौराका किसान नविजान कवारीका अनुसार ओल बिक्रीका लागि किसानले धेरै समस्या भोग्नुपर्दैन । व्यापारीहरू घरमै आउने गरेको र बजार पुर्याएपछि पनि सहजै बिक्री हुने गरेको उनले बताए । “व्यापारी घरमा आउने गरेका छन् । नआए पनि बजार पुर्याएपछि बिक्री भइहाल्छ,” कवारीले भने, “राम्रो भाउ पाउने बेला पारेर बेच्न सकिन्छ ।”
स्थानीय किसानका अनुसार एक कठ्ठा जमिनमा १० क्विन्टलसम्म ओल उत्पादन हुने गरेको छ । ओलबाट तरकारी, चटनी, अचार र तरुवा बनाइन्छ । मधेसमा यी परिकार लोकप्रिय छन् । पहिले रैथाने ओल सीमित परिवारको भान्सामा पुग्ने गरेको थियो । अन्य तरकारीभन्दा महँगो भएकाले ओललाई हुनेखाने परिवारले खाने तरकारीका रूपमा लिइन्थ्यो । अहिले यसको बजार विस्तार भए पनि महोत्तरीमा ओलखेती अझै व्यावसायिक रूपमा अघि बढ्न सकेको छैन । भङ्गाहा गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष कार्कीका अनुसार किसानले ओललाई मुख्य बालीका रूपमा अझै स्वीकार गरिसकेका छैनन् । किसानले व्यावसायिक रूपमा ओलखेती गर्न चासो देखाए सुलभ मूल्यमा बीउ, प्राविधिक सहयोग र टाढाका बजारसँग आवश्यक समन्वयको व्यवस्था गर्न कृषि शाखा तयार रहेको उनले बताए ।
उनका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा ओलखेती विस्तारै बढ्दै गएको छ र केही किसान कृषि शाखासँग प्रत्यक्ष सम्पर्कमा आएर खेतीसम्बन्धी सल्लाह लिन थालेका छन् । स्थानीय किसानका अनुसार ओलखेतीका लागि धेरै सिँचाइ आवश्यक पर्दैन । अन्य तरकारी बालीको तुलनामा बढी वर्षा सहन सक्ने भएकाले खेती गर्न सहज छ । गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतो थोरै लगानी र कम मेहनतमै ओलबाट राम्रो उत्पादन लिन सकिने बताउँछन् । उनका अनुसार अन्य बालीको तुलनामा ओलमा मौसमको प्रभाव पनि कम पर्ने गरेको छ ।
बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो ओल लामो समयसम्म घरमै भण्डारण गर्न सकिने भएकाले किसानका लागि सहज र आम्दानीका दृष्टिले भरपर्दो बाली भएको बताउँछन् । कृषि कार्यालयका फलफूल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोका अनुसार दुई वर्षअघिसम्म ओलखेतीबारे खासै चासो नदेखाउने किसान पछिल्लो समय खेतीसम्बन्धी सल्लाह लिन कार्यालयसम्म आउन थालेका छन् । बजार र उत्पादनको सम्भावना देखिएसँगै किसानमा ओलखेतीप्रतिको चासो क्रमशः बढ्दै गएको उनको भनाइ छ ।
















प्रतिक्रिया दिनुहोस् !