वीरगंज (पर्सा), १८ असोज । पर्साको बहुअरीमा सडकको दुरवस्थाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन स्थानीयवासी सडकमा उत्रिएका छन् । श्रीसिया सुक्खा बन्दरगाह–बहुअरी चोक तथा परवानीपुर–मिलनचोकतर्फ जाने सडक जीर्ण बनेर दुर्घटनाको जोखिम बढ्दा पनि मर्मतमा बेवास्ता गरिएको भन्दै बहुअरीवासीले शनिबार करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् ।
वीरगंज महानगरपालिका–२४ स्थित बहुअरी मठ अगाडिको सडकको पिच ठाउँ–ठाउँमा उप्किएर ठूला–ठूला खाल्डा परेका छन् भने सडकको सतहसमेत असमान बनेको छ । जसका कारण दैनिक आवतजावत गर्ने सवारीसाधन तथा पैदलयात्री जोखिममा परेको स्थानीयको गुनासो छ ।
विशेषगरी तीव्र गतिमा गुडिरहेका सवारीसाधन जीर्ण सडकको भागमा पुग्दा नियन्त्रण गुमाउने अवस्था आउने र दुर्घटनाको सम्भावना बढेको स्थानीयले बताएका छन् । रातको समयमा सडकको बिग्रिएको भाग स्पष्ट देखिन नसक्दा जोखिम झनै बढ्ने उनीहरूको भनाइ छ । स्थानीयका अनुसार सडक निर्माण भएको केही वर्षमै विभिन्न स्थानमा पिच उप्किएर सडक जीर्ण बन्दै गए पनि समयमै मर्मत तथा प्राविधिक अनुगमन हुन सकेको छैन । पटक–पटक समस्या देखिँदा समेत सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
सडक सुधारका लागि सम्बन्धित निकायलाई दबाब दिन शनिबार पहिलो चरणमा करिब ३० मिनेट सडक जाम गरिएको स्थानीयले बताएका छन् । सडकको अवस्था तत्काल सुधार गर्न पहल नभए विरोधलाई थप चरणबद्ध र कडा बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन् । स्थानीयले ‘दुर्घटना भएपछि मर्मत गर्ने होइन, दुर्घटना हुनुअघि नै सडक सुरक्षित बनाऊ’ भन्ने माग अघि सारेका छन् । उनीहरूले बहुअरी मठ अगाडिसहित सडकका अन्य जोखिमयुक्त स्थानको तत्काल प्राविधिक निरीक्षण गरी आवश्यक मर्मत तथा पिच पुनःनिर्माण गर्न माग गरेका छन् ।
जीर्ण सडकका कारण दैनिक आवतजावत नै जोखिमपूर्ण बन्दै गएको भन्दै स्थानीयले सम्बन्धित सडक कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई तत्काल काम अघि बढाउन आग्रह गरेका छन् । स्थानीयको चेतावनीअनुसार समयमै सडक सुधार नभए बहुअरी क्षेत्रमा सडक अवरोधसहितका थप विरोध कार्यक्रम अघि बढ्ने सम्भावना छ ।












प्रतिक्रिया दिनुहोस् !