Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको घटना अहिले सार्वजनिक बहसको केन्द्रमा छ । राज्यका संयन्त्र सक्रिय छन् । छानबिन भइरहेको छ । उनको उपचार भइरहेको छ । तर केही दिनको सरकारी सक्रियताले नेपालको स्वास्थ्य प्रणालीभित्रको गहिरो समस्या समाधान हुँदैन । बबिताको घटना सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि सरकार जाग्यो । पविताको शल्यक्रियापछि होस आएन, साढे चार महिनापछि मृत्यु भयो, परिवारले उपचारमा लापरबाही भएको भन्दै जाहेरी दियो तर प्रश्नको पूर्ण जवाफ आज पनि खोजिन बाँकी छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

राजबिराज (सप्तरी), २९ भदौ । प्रसव पीडाले छटपटाइरहेकी महिला पैसा अभावकै कारण अस्पतालबाट बाहिरिनुपरेर सडकपेटीमा बच्चा जन्माउन बाध्य हुनुजस्तो विडम्बना अर्को के हुन सक्छ ? संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने अधिकार दिएको छ । आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित गर्न नहुने संवैधानिक व्यवस्था छ । सुरक्षित मातृत्वका कार्यक्रम पनि सञ्चालनमा छन् । तर, व्यवहारले भने संविधानका यी प्रावधानलाई नै चुनौती दिइरहेको देखिन्छ ।

भदौ २४ गते राति करिब २ बजे सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर देखिएको दृश्यले यही प्रश्न उठाएको छ । राजविराज नगरपालिका–१४, पर्साहीकी बबिता पासवान प्रसव पीडामा अस्पताल पुगेकी थिइन् । तर ल्याबमा रगत, पिसाबलगायत परीक्षण गराउन आवश्यक रकम उनीसँग थिएन। अन्ततः अस्पताल परिसरबाहिर सडकपेटीमै उनले बच्चा जन्माउनुपर्‍यो । सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटना एकाएक चर्चामा आयो । सामाजिक सञ्जालदेखि संसद्सम्म प्रश्न उठ्यो । सरकार र स्वास्थ्य सेवा प्रणालीमाथि आलोचना भयो ।

चुनावका बेला वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहले ‘खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्छ’ भन्दै दिएको अभिव्यक्तिसमेत पुनः चर्चामा आयो । विडम्बना के हो भने, त्यही बालेन्द्र शाह अहिले प्रधानमन्त्री छन् र उनकै कार्यकालमा पैसा अभावकै कारण एउटी गर्भवती महिला अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था सिर्जना भयो । घटना सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सप्तरीले छुट्टाछुट्टै छानबिन समिति बनाए । अस्पताल प्रशासनले चिकित्सकसहित ६ जना कर्मचारीलाई तत्कालका लागि कामकाजबाट हटायो । बबितालाई घरबाट ल्याएर पुनः अस्पताल भर्ना गरी उपचार पनि सुरु गरियो । यी कदम तत्कालका लागि आवश्यक थिए । तर, समस्या यतिमै सकिँदैन ।

घटना भाइरल नभएसम्म विपन्नले न्याय नपाउने ?
बबिताजस्ती कुनै विपन्न महिलाले स्वास्थ्य सेवा पाउन सामाजिक सञ्जालमा भिडियो भाइरल हुनैपर्ने हो ? सडकमा विरोध हुनैपर्ने हो ? संसद्मा विषय उठ्नैपर्ने हो ? यदि घटना सार्वजनिक नभएको भए बबिताको अवस्था कसले हेर्थ्यो ? अस्पतालको ढोकाबाट बाहिरिएर सडकपेटीमा बच्चा जन्माउन बाध्य भएकी महिलाको पीडा राज्यको नजरमा पर्ने आधार के थियो ?

घटना बाहिर आएपछि सरकार सक्रिय हुने, छानबिन समिति बन्ने र केही कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने अभ्यासले मूल समस्या समाधान गर्दैन । स्वास्थ्य सेवाको संरचनामै रहेका कमजोरी पहिचान गरी त्यसलाई सच्याउने दीर्घकालीन योजना आवश्यक छ । बबिताले भोगेको पीडा केही दिनको छानबिनले मेटाउन सक्दैन । यही घटनाले मधेसमा स्वास्थ्य सेवाको अवस्था र राज्यको नियमन प्रणालीसँग जोडिएको अर्को पीडादायी घटनालाई पनि सम्झाइदिन्छ पविता यादवको घटना ।

शल्यक्रियापछि कहिल्यै होस नफर्केकी पविता
सर्लाहीको हरिपूर्वा नगरपालिका–५ की २५ वर्षीया पविता यादवको घटना ३ माघ २०८१ को हो
जनकपुरधामको पिडारीचोकस्थित त्यसबेला दर्ता नरहेको मुस्कान अस्पतालमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । जनकपुरकै सूर्या अल्ट्रासाउन्डमा परीक्षणका लागि पुगेकी पवितालाई त्यहाँबाट भर्खरै खुलेको मुस्कान अस्पताल लगिएको थियो । सर्जन डा. ज्ञानकुमार साहले उनको शल्यक्रिया गरेका थिए । तर शल्यक्रियापछि पविताको होस आएन ।

अस्पतालले उनलाई अन्यत्र लैजान सुझाव दियो । जनकपुरको जानकी हेल्थकेयर हुँदै काठमाडौंको केएमसीसम्म पुर्‍याएर उपचार गरियो । तर करिब साढे चार महिनासम्म पनि पविताको चेतना फर्किएन । अस्पताल दर्ताबिनै सञ्चालनमा रहेको र शल्यक्रियापछि लामो समयसम्म पनि पविताको होस नफर्किएको विषयमा समाचार सार्वजनिक भएपछि मधेशका तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले मुस्कान अस्पताल बन्द गराएका थिए । त्यसपछि प्रदेशका सरकारी तथा निजी अस्पतालमा छड्के अनुगमनसमेत सुरु भयो ।

एक महिनाभित्र करिब चार दर्जन अस्पताल बन्द गरिएको बताइएको थियो । तर समय बित्दै जाँदा तीमध्ये अधिकांश पुनः सञ्चालनमा आए । प्रश्न अझै उही छ ती अस्पताल किन बन्द गरिए ? कसरी पुनः सञ्चालनमा आए ? मापदण्ड पूरा गरे कि गरेनन् ? अनुगमनपछि सुधार के भयो ? यी प्रश्नको जवाफ सम्बन्धित सरकार र स्वास्थ्य मन्त्रालयले दिनुपर्ने हो ।

पविताको मृत्यु भयो, तर जवाफदेहिता कहाँ पुग्यो ?
२९ माघमा काठमाडौंको केएमसीमा भर्ना गरिएकी पविताको करिब साढे चार महिनापछि १६ जेठ २०८२ मा मृत्यु भयो । उनका बुबा ब्रह्मदेवले उपचारमा लापरबाही भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । तर अस्पताल पक्षमाथि प्रभावकारी कारबाही भएको देखिएन । पविताका पति अङ्गेश भारतमा मजदुरी गरेर फर्किएपछि लामो समय कुरुवा बसे । परिवारले ऋणकर्जा गरेर उपचारमा १५ लाख रुपैयाँभन्दा बढी खर्च गर्‍यो । उपचार खर्चको भार बढ्दै गएपछि उनी घर फर्किन बाध्य भए । पछि अस्पतालले उनलाई हाजिर गराउन प्रहरीसम्म लगेको थियो ।

पविताको मृत्युबारे समाचार सार्वजनिक भएपछि उपचार खर्च नलिई शव परिवारलाई दिइयो । त्यसपछि उपचार खर्चको लेनदेनमार्फत घटना मिलाइएको थियो । केही महिनापछि बन्द गरिएको मुस्कान अस्पताल पुनः सञ्चालनमा आयो । तर पविताको घटनामा प्रभावकारी छानबिन भयो कि भएन ? लापरबाही प्रमाणित भयो कि भएन ? दोषी को थिए ? उनीमाथि के कारबाही भयो ? यी प्रश्न भने अनुत्तरित नै रहे । पविताका दुई सन्तानले आमासमेत गुमाए ।

१० प्रतिशत निःशुल्क बेडको व्यवस्था कहाँ हरायो ?
स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँच सुनिश्चित गर्न निजी अस्पतालले समेत गरिब, विपन्न तथा असहायका लागि १० प्रतिशत बेड निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने कानुनी व्यवस्था छ । तर मधेशका अस्पतालमा यो व्यवस्था व्यवहारमै लागू भएको देखिँदैन । लागू भएको भए विपन्न नागरिक उपचार खर्च जुटाउन नसकेर अस्पतालको गेटबाहिर पुग्ने अवस्था कसरी आयो ? उपचारको बिल तिर्न नसकेर अस्पतालमै रोकिएर बस्नुपर्ने अवस्था किन दोहोरिन्छ ? यसको प्रभावकारी अनुगमन गर्ने जिम्मेवारी सरकारको हो । तर नियमन गर्ने निकायले नै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा नगरेपछि कानुनी व्यवस्था कागजमै सीमित हुने खतरा बढ्छ ।

सरकारी अस्पतालमा जनशक्ति अभाव, निजीमा खर्चको बोझ
मधेशका सरकारी अस्पतालका आफ्नै समस्या छन् । भौतिक पूर्वाधार कमजोर छ । आवश्यक जनशक्ति पर्याप्त छैन । जनकपुरधामको प्रादेशिक अस्पतालदेखि मधेश सरकार र संघीय सरकार मातहतका अस्पतालसम्म धेरै ठाउँमा दशकौं पुरानो संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसारकै दरबन्दीमा जनशक्ति सीमित छ । तर त्यसयता जनसंख्या र बिरामीको चाप भने कैयौं गुणा बढिसकेको छ । परिणाम बिरामीले सहज र समयमै उपचार पाउन कठिन हुन्छ ।

सरकारी अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी निजी अस्पताल तथा क्लिनिकमा समेत संलग्न हुने गरेको गुनासो छ । सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा आवश्यक सेवा दिन नसक्ने अवस्था आउँछ । जनकपुरधामको प्रादेशिक अस्पतालमा पनि उपचारभन्दा रेफर गर्ने प्रवृत्ति बढेको गुनासो सुनिन्छ । सरकारले भवन र भौतिक संरचनामा लगानी गरे पनि जनशक्ति व्यवस्थापन, अनुगमन र जवाफदेहितालाई समान प्राथमिकता दिन सकेको छैन ।

मधेशकै ठूलो प्रादेशिक अस्पताल जनकपुरमा गम्भीर प्रकृतिका हृदय तथा न्युरोसम्बन्धी रोगको उपचारसमेत सहज छैन । त्यस्ता बिरामीलाई निजी अस्पताल वा प्रदेशबाहिर पठाउनुपर्ने अवस्था छ ।

पैसा नभए उपचार रोक्ने प्रवृत्तिका प्रतिनिधि घटना
बिरामीको चापका कारण सरकारी अस्पतालमा समयमै उपचार नपाएपछि विपन्न नागरिक महँगो भएपनि निजी अस्पताल पुग्न बाध्य हुन्छन् । त्यसपछि उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकिनुपर्ने अवस्था आउँछ । सर्लाहीको सबैला नगरपालिका–९ की मन्तोरिया राय यसको एउटा उदाहरण हुन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी मन्तोरिया उपचार खर्च तिर्न नसक्दा जनकपुरको जनकपुर न्युरो हस्पिटलमा ३९ दिनसम्म रोकिएकी थिइन् । उनीसँगै उनका तीन बच्चाले समेत अस्पतालमै लामो समय बिताउनुपरेको थियो । समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा उनी अस्पतालबाट बाहिरिन सकिन् ।

त्यस्तै, मोटरसाइकल दुर्घटनामा घाइते जनकपुरधाम उपमहानगरपालिका–१७ का २२ वर्षीय रामविनय राम उपचार खर्च तिर्न नसक्दा कृष्ण मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टरमा २४ दिनसम्म रोकिएका थिए । समाचार सार्वजनिक भएपछि मानव अधिकारवादी संस्था तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा परिवारले थप ५० हजार रुपैयाँ बुझाएपछि २५ दिनमा उनलाई अस्पतालबाट निकालिएको थियो ।

यी दुई घटना मात्रै हुन् । यस्ता कति घटना सार्वजनिक नै हुँदैनन् भन्ने प्रश्न झन् गम्भीर छ । कतिपय परिवार उपचार खर्च जुटाउन घरजग्गा बेच्न बाध्य छन् । कतिपय ऋणमा डुब्छन् । कतिपयले उपचारकै क्रममा आफन्त गुमाउँछन् ।

नियमन गर्ने निकाय नै कहाँ छ ?
जनकपुरधामको प्रादेशिक अस्पताल, समर अस्पताल, न्युरो अस्पताल, गोदावरी अस्पताल, रामजानकी अस्पताल, कृष्ण मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टरलगायतका अस्पतालमा उपचारका क्रममा लापरबाही वा मृत्यु भएका घटनाहरू समय–समयमा सार्वजनिक हुँदै आएका छन् । समाचार आउँछ । बहस हुन्छ । छानबिनको घोषणा हुन्छ । तर धेरै घटनाको अन्तिम निष्कर्ष र कारबाही सार्वजनिक हुँदैन । कतिपय संवेदनशील घटनामा पीडितलाई न्याय दिलाउनुको सट्टा घटना मिलाउन दबाब दिइएको आरोपसमेत लाग्ने गरेको छ ।

अस्पतालले आर्थिक सहयोग वा क्षतिपूर्तिको नाममा विवाद टुंग्याउने प्रयास गर्ने र पीडित परिवार लामो कानुनी प्रक्रियामा जान नसक्दा तत्काल केही रकममै सहमत हुन बाध्य हुने अवस्था पनि देखिन्छ । तर आर्थिक लेनदेनले सत्य मेटिँदैन । यदि स्वास्थ्यकर्मी वा अस्पतालको लापरबाही भएको हो भने निष्पक्ष छानबिन हुनुपर्छ । दोषी देखिए कारबाही हुनुपर्छ । यही प्रक्रियाले पीडितलाई न्याय दिन्छ र भविष्यमा स्वास्थ्य संस्थालाई आफ्नो जिम्मेवारीप्रति सचेत बनाउँछ ।

दर्ताबिनै अस्पताल सञ्चालन हुँदा सरकार कहाँ थियो ?
स्वास्थ्य क्षेत्रको अर्को गम्भीर समस्या अनुगमन र तथ्यांक व्यवस्थापनको हो । अस्पताल खोल्ने अनुमति दिने निकायसँग आफ्नै क्षेत्रमा कति अस्पताल, क्लिनिक, फार्मेसी र ल्याब सञ्चालनमा छन् भन्ने यकिन विवरण नहुनु आफैंमा गम्भीर कमजोरी हो । जनकपुरधाम उपमहानगरपालिकाले चार वर्षअघि नगरभित्र सञ्चालनमा रहेका निजी अस्पताल, क्लिनिक, फार्मेसी, ल्याबलगायत स्वास्थ्य संस्थाको तथ्यांक संकलन गरेको थियो ।

त्यस क्रममा थुप्रै स्वास्थ्य संस्था दर्ता वा अनुमतिबिनै सञ्चालनमा रहेको पाइएको थियो । त्यसपछि के भयो ? तथ्यांक संकलन गरेर दराजमा थन्क्याउने हो कि त्यसैका आधारमा नियमन र कारबाही गर्ने हो ? सरकार र सम्बन्धित निकायले यसको जवाफ दिनुपर्छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ‘अनुगमन गरियो’ भनेर कागज मिलाउनु पर्याप्त हुँदैन । मापदण्ड नमान्ने संस्थामाथि कारबाही र मापदण्ड पूरा गर्ने संस्थालाई नियमित निगरानी आवश्यक हुन्छ ।

बबिता र पविताले उठाएका एउटै प्रश्न
बबिताको घटना अहिले सार्वजनिक बहसको केन्द्रमा छ । राज्यका संयन्त्र सक्रिय छन् । छानबिन भइरहेको छ । उनको उपचार भइरहेको छ । तर केही दिनको सरकारी सक्रियताले नेपालको स्वास्थ्य प्रणालीभित्रको गहिरो समस्या समाधान हुँदैन । बबिताको घटना सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि सरकार जाग्यो । पविताको शल्यक्रियापछि होस आएन, साढे चार महिनापछि मृत्यु भयो, परिवारले उपचारमा लापरबाही भएको भन्दै जाहेरी दियो तर प्रश्नको पूर्ण जवाफ आज पनि खोजिन बाँकी छ । त्यसैले प्रश्न बबिताको मात्र होइन । पविताको मात्र पनि होइन । प्रश्न ती सबै नागरिकको हो, जसले अस्पताललाई उपचार र जीवन बचाउने अन्तिम आशाको केन्द्र ठान्छन् ।

कति बबिताहरू पैसा नभएकै कारण अस्पतालको गेटबाहिर पुग्नुपर्ने हो ? कति पविताहरू उपचारमा भएको लापरबाहीको मूल्य तिरेर पनि न्यायबाट वञ्चित हुनुपर्ने हो ? कहिलेसम्म विपन्न नागरिकले उपचार पाउन पैसा, पहुँच वा घटना सार्वजनिक हुने अवस्थाको प्रतीक्षा गर्नुपर्ने हो ? यी प्रश्नको जवाफ सरकार र सम्बन्धित स्वास्थ्य निकायले दिनैपर्छ । बबिताको घटनालाई केही दिनको राजनीतिक वक्तव्य, छानबिन समिति र कर्मचारीमाथिको कारबाहीमा सीमित गरियो भने यो अर्को एउटा समाचार बनेर हराउनेछ ।

अब आवश्यक छ सरकारी अस्पतालमा पर्याप्त जनशक्ति र पूर्वाधार, निजी अस्पतालको कडा नियमन, विपन्नका लागि कानुनले तोकेको १० प्रतिशत निःशुल्क उपचारको वास्तविक कार्यान्वयन तथा उपचारमा लापरबाही भए निष्पक्ष छानबिन र दोषीमाथि कारबाही । नत्र केही समयपछि फेरि अर्को बबिता अस्पतालको ढोकाबाट फर्काइनेछ, अर्को विपन्न परिवार उपचार खर्चमा डुब्नेछ, अर्को पविताको जीवन उपचारकै क्रममा समाप्त हुनेछ र त्यसपछि फेरि राज्यका संयन्त्र केही दिनका लागि जाग्नेछन् । स्वास्थ्य सेवा नागरिकको संवैधानिक अधिकार हो, दया वा पहुँचका आधारमा पाइने सुविधा होइन। राज्यले यो आधारभूत सत्य व्यवहारमै प्रमाणित गर्नुपर्ने बेला आएको छ ।

Tags: स्वास्थ्य अधिकार कागजमा सीमित: विपन्न नागरिक अस्पतालमै पीडित
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

भदौ २८, २०८३
प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि