वीरगंज (पर्सा), २४ भदौ । पर्सागढी नगरपालिका–६, चैनपुर बागेश्वरी तित्रौनास्थित करिब ३ बिघा सरकारी ऐलानी जग्गामा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक जग्गाको संरक्षणसँगै स्थानीय क्षेत्रमा हरियाली विस्तार र वातावरणीय सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिब २१० वटा बिरुवा रोपिएको वडा कार्यालयले जनाएको छ । वडा नं. ६ का वडाध्यक्ष नवलकिशोर प्रसाद कलवारका अनुसार वृक्षरोपणका लागि आवश्यक बिरुवा खरिदमा करिब १ लाख रुपैयाँ व्यक्तिगत रूपमा खर्च गरिएको छ । सार्वजनिक जग्गालाई हराभरा बनाउने तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले आफूले व्यक्तिगत पहल र लगानीमा अभियान अघि बढाएको उनले बताए ।
वृक्षरोपण गरिएको क्षेत्रको संरक्षणका लागि समेत आवश्यक व्यवस्था गरिएको छ । बागेश्वरी टोलको समान घाट नजिक रहेको ऐलानी जग्गामा करिब ५० हजार रुपैयाँ बराबरको बाँसको घेरा (डोल) निर्माण तथा व्यवस्थापन गरिएको वडाध्यक्ष कलवारले जानकारी दिए । करिब ३ बिघा क्षेत्रफलमा फैलिएको ऐलानी जग्गालाई संरक्षण गर्दै हरियाली क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो । सार्वजनिक जग्गा अतिक्रमण तथा अव्यवस्थित प्रयोगको जोखिमबाट जोगाउन वृक्षरोपणसँगै संरक्षणको अभियान अघि बढाइएको वडा कार्यालयको भनाइ छ ।
कार्यक्रममा वडा नं. ६ का स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले सार्वजनिक जग्गामा वृक्षरोपण गर्नु वातावरणीय दृष्टिले मात्रै नभई सार्वजनिक सम्पत्तिको संरक्षणका लागि समेत महत्वपूर्ण कदम भएको बताएका छन् । स्थानीयका अनुसार लामो समयसम्म उपयोगविहीन अवस्थामा रहेको जग्गालाई व्यवस्थित रूपमा संरक्षण गर्दै हरियाली क्षेत्रमा परिणत गर्न सके यसले आगामी दिनमा वडाको वातावरणीय सौन्दर्यसमेत बढाउन सक्छ ।
कार्यक्रममा सहभागी स्थानीयवासीले बिरुवा रोप्ने अभियानसँगै त्यसको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले बिरुवा रोपेर छाड्ने प्रवृत्तिले अपेक्षित परिणाम नदिने भन्दै नियमित पानी, गोडमेल, तारबार तथा संरक्षणको व्यवस्था गर्नुपर्ने बताएका छन् । विशेषगरी गर्मी तथा सुख्खा मौसममा बिरुवा जोगाउन पानीको उचित व्यवस्था आवश्यक हुने भएकाले सम्बन्धित निकाय तथा स्थानीय समुदायले संयुक्त रूपमा संरक्षणको जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ छ ।
कार्यक्रममा वडाध्यक्ष कलवारले सार्वजनिक जग्गाको संरक्षण तथा वातावरणीय सुधारका लागि आफूले व्यक्तिगत लगानीमा सुरु गरेको वृक्षरोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । उनले सार्वजनिक जग्गा सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा जनप्रतिनिधि, स्थानीयवासी, सुरक्षा निकाय तथा अन्य सरोकारवाला सबैको सहकार्य आवश्यक छ । वृक्षरोपणलाई एकदिने कार्यक्रमका रूपमा सीमित नगरी रोपिएका बिरुवालाई हुर्काउने र संरक्षण गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । करिब ३ बिघा क्षेत्रफलमा २१० वटा बिरुवा रोपिएसँगै चैनपुर बागेश्वरी तित्राउनको उक्त ऐलानी क्षेत्रलाई आगामी वर्षहरूमा हरियालीयुक्त सार्वजनिक क्षेत्रका रूपमा विकास गर्ने सम्भावना बढेको छ ।







प्रतिक्रिया दिनुहोस् !