जनकपुरधाम (धनुषा), २३ असार । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा मंगलबार जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन तथा र्याली निकालिएको छ । विभिन्न जिल्लाबाट आएका समर्थकहरूले वर्तमान सरकारको कार्यशैली, सुशासन र प्रशासनिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
जानकी मन्दिर परिसरबाट सुरु भएको र्याली जनकचोक, शिवचोक, भानुचोक हुँदै नगरका विभिन्न स्थानको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, जनउत्तरदायी शासन व्यवस्था र प्रशासनिक सुधारको माग गर्दै नाराबाजी गरेका थिए । र्यालीलाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । सिंहदरबारको प्रशासनिक प्रणाली राजनीतिक नेतृत्वकै कारण कमजोर बन्दै गएको दाबी गर्दै उनले सरकारका गतिविधिमाथि नागरिकस्तरबाट निरन्तर खबरदारी आवश्यक रहेको बताए ।
सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै आफ्नो अभियानले उपलब्धि र कमजोरी समेटिएको विस्तृत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए । प्रसाईंले प्रशासनिक अवस्था, आर्थिक चुनौती, सुशासन र विदेश नीतिलगायतका विषयमा सरकारमाथि प्रश्न उठाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने धारणा व्यक्त गरे । शासन प्रणालीप्रति जनविश्वास घट्दै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि राजनीतिक उत्तरदायित्व आवश्यक रहेको उनले बताए ।
र्यालीअघि प्रसाईंले जानकी मन्दिरमा पूजा–अर्चना गरेका थिए । साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको नागरिक बचाउ महाअभियानले जनाएको छ । प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीले र्याली मार्गमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो ।







प्रतिक्रिया दिनुहोस् !