महोत्तरी, २३ असार । महोत्तरीका उखु किसानले बिक्री गरेको उखुको मूल्य र सरकारी अनुदान गरी करिब दुई अर्ब रुपैयाँ भुक्तानी प्रक्रिया सुरु भएको छ । जिल्लाका दुई चिनी उद्योगले किसानको बक्यौता रकम उपलब्ध गराउन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार जिल्लाभरका १२ हजार ३२ जना किसानले बिक्री गरेको २८ लाख ६७ हजार ९८७.३९ क्विन्टल उखुको भुक्तानी एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज लिमिटेड, रामनगर र सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिले सुरु गरेका छन् ।
उखु खरिदबापत किसानलाई कुल १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँ ७ पैसा भुक्तानी गर्नुपर्नेमा हालसम्म १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ ६० पैसा किसानको खातामा जम्मा भइसकेको प्रशासनले जनाएको छ । अब ८१ लाख ९० हजार ७७७ रुपैयाँ ४७ पैसा भुक्तानी गर्न बाँकी रहेको छ ।
एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिजले ११ हजार ८११ जना किसानबाट २८ लाख ५३ हजार १७८.९६ क्विन्टल उखु खरिद गरेको थियो । उद्योगले त्यसबापत १ अर्ब ७६ करोड ३८ लाख ८५ हजार ७३५ रुपैयाँ ६० पैसा भुक्तानी गरिसकेको छ । सात जना किसानको बैंक खाता नभएकाले उनीहरूको ३ लाख ७० हजार २५२ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।
यस्तै, सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डस्ट्रिजले २१४ जना किसानबाट १४ हजार ८०८.४३ क्विन्टल उखु खरिद गरेकोमा १३ लाख ६० हजार ७२० रुपैयाँ भुक्तानी गरिसकेको छ । उक्त उद्योगबाट अझै ७८ लाख २० हजार ५२५ रुपैयाँ किसानले पाउन बाँकी छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलका अनुसार किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले उपलब्ध गराइने अनुदान रकमका लागि पनि प्रक्रिया अघि बढाइएको छ । असार १९ गते बसेको भुक्तानी समितिको बैठकले २० करोड ७ लाख ५९ हजार ११७ रुपैयाँ ३० पैसा अनुदान रकम निकासाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयमा सिफारिस गरिसकेको उनले बताए । प्रशासनले अनुदान रकम निकासा भएपछि किसानको खातामा समेत क्रमशः जम्मा गरिने जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !