वीरगंज (पर्सा), २० असार । अस्पताल उपचारका लागि सुरक्षित स्थान हुनुपर्ने हो । तर मधेश प्रदेशका अधिकांश सरकारी अस्पतालमा उपचारपछि निस्कने स्वास्थ्यजन्य फोहोरको अव्यवस्थित व्यवस्थापनले अस्पताल आफैं संक्रमण फैलाउने जोखिम केन्द्र बन्दै गएको छ । पर्साको पोखरिया प्रादेशिक अस्पतालदेखि बारा, रौतहट, सर्लाही, सिरहा हुँदै प्रदेशका अधिकांश अस्पतालमा गरिएको स्थलगत अध्ययनले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन राष्ट्रिय मापदण्डअनुसार हुन नसकेको गम्भीर तथ्य उजागर गरेको छ ।
करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका फोहोर व्यवस्थापन केन्द्र, अटोक्लेभ मेसिन र अन्य पूर्वाधार प्रयोगविहीन छन् भने दैनिक उत्पादन हुने संक्रामक फोहोर खुला स्थानमा थुपार्ने, जलाउने वा सामान्य फोहोरसँग मिसाएर फाल्ने अभ्यास अझै रोकिएको छैन ।
पोखरिया अस्पताल : अस्पतालको ढोकामै दुर्गन्ध
पोखरिया प्रादेशिक अस्पतालको मुख्य प्रवेशद्वार नजिकै थुपारिएको अस्पतालजन्य फोहोरले त्यहाँ पुग्ने बिरामी र आफन्तलाई पहिलो पाइलामै दुर्गन्धको सामना गर्न बाध्य बनाउँछ । प्रयोग भएका सिरिन्ज, घाउ सफा गरेका कपडा, प्याड, प्लास्टिक र अन्य संक्रामक सामग्री एउटै स्थानमा थुपारिन्छन् । नगरपालिकाको गाडी केही दिनको अन्तरालमा फोहोर उठाए पनि अस्पताल परिसरबाट दुर्गन्ध र संक्रमणको जोखिम हट्न सकेको छैन ।
अस्पतालमा संक्रामक, सामान्य र पुनःप्रयोग गर्न मिल्ने फोहोर छुट्याउने प्रणाली प्रभावकारी छैन । जैविक फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको प्लेसेन्टा पिट जीर्ण बनेको छ भने प्रदेश र संघीय सरकारले उपलब्ध गराएका अटोक्लेभ तथा स्टेरिलाइजेसन उपकरण वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छन् । अस्पताल प्रशासनले आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र बजेट अभावका कारण वैज्ञानिक फोहोर व्यवस्थापन गर्न नसकिएको स्वीकार गरेको छ ।
प्रदेशभर एउटै समस्या
यो समस्या पोखरियामा मात्र सीमित छैन । सर्लाहीको धनकौल, बाराको कलैया, रौतहटको गौर, सिरहाको प्रादेशिक अस्पतालदेखि स्थानीय तहअन्तर्गतका आधारभूत अस्पतालसम्म अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कमजोर अवस्थामा छ । कतै अटोक्लेभ बिग्रिएर थन्किएका छन्, कतै करोडौंका संरचना सञ्चालनमै आएका छैनन्, कतै वार्डमा छुट्टाछुट्टै डस्टबिन राखिए पनि अन्तिम संकलनका बेला सबै फोहोर एउटै पोकोमा मिसाइन्छ ।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको अधिकांश स्थानीय तहसँग स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनका लागि वैज्ञानिक ल्यान्डफिल साइट नै छैन । अस्पतालबाट संकलित संक्रमित फोहोर नगरपालिकाले सामान्य फोहोरसँगै उठाएर नदी किनार, खुला चौर वा खाली स्थानमा थुपार्ने र जलाउने गरेको पाइएको छ । यसले अस्पतालभित्र सीमित हुनुपर्ने संक्रमणको जोखिम समुदायसम्म फैलाउने खतरा बढाएको छ ।
जोखिममा सरसफाइकर्मी
अव्यवस्थित फोहोर व्यवस्थापनको पहिलो मार अस्पतालका सरसफाइकर्मीले खेपिरहेका छन् । प्रयोग गरिसकेका सुई अन्य फोहोरसँग मिसाइँदा सफाइका क्रममा पटक–पटक सुईले घोचिने घटना भइरहेका छन् । संक्रमणको जोखिम हुँदाहुँदै उनीहरू पर्याप्त सुरक्षा सामग्री, नियमित तालिम र स्वास्थ्य सुरक्षा सुविधाबाट समेत वञ्चित छन् । स्वास्थ्यकर्मीहरूका अनुसार फोहोर वर्गीकरणमा लापरबाही, आवश्यक उपकरणको अभाव तथा निगरानी कमजोर हुँदा सरसफाइकर्मी सबैभन्दा बढी जोखिममा परेका छन् ।
वीरगंजमा ६ करोडको केन्द्र पनि प्रभावहीन
वीरगंज महानगरपालिका–१६ नगवामा करिब ६ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक ’ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ पनि अपेक्षाअनुसार सञ्चालन हुन सकेको छैन । अस्पतालबाट आउने फोहोर स्रोतमै वर्गीकरण नगरिएकाले आधुनिक उपकरण र प्रशोधन प्रणाली पूर्ण क्षमतामा प्रयोग हुन नसकेको महानगरको भनाइ छ । दुईवटा अटोक्लेभ मेसिनसमेत लामो समयदेखि सञ्चालनबाहिर छन् ।
तरल फोहोर अर्को ठूलो चुनौती
विशेषज्ञहरूका अनुसार अस्पतालबाट निस्कने तरल फोहोर व्यवस्थापन झनै कमजोर छ । अपरेशन थिएटर, प्रयोगशाला र डायलाइसिस सेवाबाट निस्कने दूषित पानी प्रशोधन नगरी सिधै नाली वा खोलामा मिसाइने अभ्यास अझै कायम छ । यस्तो फोहोरमा रहेका जीवाणु, रसायन र औषधिजन्य अवशेषले पानीका स्रोत र वातावरणमा दीर्घकालीन असर पार्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
कानुन छ, कार्यान्वयन छैन
नेपालको संविधान, फोहोरमैला व्यवस्थापन ऐन, जनस्वास्थ्य सेवा ऐन, वातावरण संरक्षण ऐन तथा स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्डले प्रत्येक स्वास्थ्य संस्थालाई आफ्नै फोहोर सुरक्षित रूपमा व्यवस्थापन गर्ने कानुनी दायित्व दिएको छ । तर मधेशका अधिकांश अस्पतालमा यी कानुनी व्यवस्था व्यवहारमा लागू हुन नसकेको अध्ययनले देखाएको छ ।
स्वास्थ्य निर्देशनालयका अधिकारी तथा फोहोर व्यवस्थापनसम्बन्धी विज्ञहरूका अनुसार समस्या उपकरणको अभावभन्दा पनि व्यवस्थापन प्रणाली, तालिम, अनुगमन र संस्थागत जिम्मेवारीको कमजोरीमा केन्द्रित छ । पूर्वाधार निर्माणमा करोडौं रुपैयाँ खर्च भए पनि सञ्चालन र निगरानी प्रभावकारी नहुँदा ती संरचना निष्प्रभावी बनेका छन् ।
सुधारको पर्खाइमा स्वास्थ्य प्रणाली
मधेश प्रदेशभर सञ्चालनमा रहेका सयौं स्वास्थ्य संस्थाबाट दैनिक ठूलो परिमाणमा स्वास्थ्यजन्य फोहोर उत्पादन हुन्छ । तर त्यसको वैज्ञानिक व्यवस्थापन अझै चुनौतीकै रूपमा रहेको छ । अस्पतालजन्य फोहोरलाई सामान्य फोहोरसरह व्यवहार गर्ने प्रवृत्ति अन्त्य नभएसम्म संक्रमण नियन्त्रण, वातावरण संरक्षण र सुरक्षित स्वास्थ्य सेवा केवल नीतिगत दस्तावेजमै सीमित रहने देखिन्छ ।
स्वास्थ्य संस्था उपचारका केन्द्र हुन्, संक्रमणका स्रोत होइनन् । त्यसैले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनलाई अब प्रशासनिक औपचारिकता होइन, जनस्वास्थ्य र वातावरणीय सुरक्षासँग जोडिएको राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिनुपर्ने आवश्यकता झन् टड्कारो बनेको छ ।







प्रतिक्रिया दिनुहोस् !