वीरगंज (पर्सा), १७ असार । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले पर्सास्थित जिल्ला प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी संगठनलाई अझ अनुशासित, व्यावसायिक र नागरिककेन्द्रित बनाउन निर्देशन दिएका छन् । बुधबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका डीआईजी अधिकारीले कार्यालय परिसर, विभिन्न शाखा तथा कार्यालयका भौतिक संरचनाको स्थलगत निरीक्षण गरेका थिए ।
त्यसक्रममा उनले कार्यालयको समग्र कार्यसम्पादन, व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए । निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले प्रहरी कर्मचारी तथा मातहतका विभिन्न युनिटका प्रमुखहरूलाई संगठनात्मक अनुशासन, प्रहरी आचरण, नागरिक सर्वोच्चता, सुशासन तथा वर्तमान सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा आवश्यक निर्देशन दिएका थिए । उनले कानुनको निष्पक्ष कार्यान्वयन गर्दै जनविश्वास अभिवृद्धि हुने गरी जिम्मेवारी निर्वाह गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायब उपरीक्षक राजु कार्की, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित विभिन्न तहका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यसअघि बिहान करिब ७ः३० बजे डीआईजी अधिकारीले नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजको समेत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले कोतगारद, विभिन्न प्रशासनिक शाखा, मेस, क्यान्टिन, लाइन ब्यारेक तथा कार्यालयको समग्र व्यवस्थापनको अवलोकन गरेका थिए ।
प्रदेश प्रहरी कार्यालयमा आयोजित निरीक्षण कार्यक्रममा उनले कार्यसम्पादनलाई थप प्रभावकारी, सेवा प्रवाहलाई गुणस्तरीय तथा कार्यालयको सरसफाइ, अनुशासन र व्यवस्थापनलाई सुदृढ बनाउन आवश्यक सुझाव र निर्देशन दिएका थिए । साथै प्रहरी अधिकृत तथा जवानहरूलाई उच्च व्यावसायिकता, कर्तव्यनिष्ठा, अनुशासन र नागरिकमैत्री व्यवहारलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्न प्रेरित गरेका थिए ।
प्रदेश प्रहरी कार्यालय वीरगंजमा सम्पन्न निरीक्षण कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, प्रहरी निरीक्षक रञ्जन मिश्रलगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस् !