वीरगंज (पर्सा), १४ असार । पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीमा चालु आर्थिक वर्षको आसारे बजेट कार्यान्वयनका क्रममा व्यापक अनियमितता, नक्कली बिल–भरपाई, कामै नगरी बजेट निकासा तथा सार्वजनिक रकम दुरुपयोग भएको भन्दै स्थानीयले गम्भीर आरोप लगाएका छन् । स्थानीयका अनुसार वडा नम्बर २ मा करिब एक करोड रुपैयाँ बराबरका विभिन्न योजनामध्ये आधाभन्दा बढी रकम अनियमित रूपमा खर्च भएको आशंका गरिएको छ ।
स्थानीय स्रोतका अनुसार एउटै योजनामा गाउँपालिकादेखि प्रदेश तहसम्म दोहोरो बजेट राख्ने, काम नगरी पुराना फोटो र नक्कली बिल–भरपाईका आधारमा रकम निकासा गर्ने तथा कागजी रूपमा मात्र योजना सम्पन्न देखाएर सरकारी रकम हिनामिना गर्ने कार्य भएको दाबी गरिएको छ । सबैभन्दा गम्भीर आरोप श्री रामजानकी मन्दिरको रंगरोगन योजनामा लागेको छ । स्थानीयका अनुसार मन्दिरमा उल्लेखनीय काम नै नगरी बजेट निकासा गरिएको छ । त्यस्तै श्री कालिका कन्या माध्यमिक विद्यालयमा शिक्षक तथा व्यवस्थापन खर्चका नाममा अनियमितता भएको आरोप पनि उठेको छ ।
स्रोतका अनुसार विद्यालयमा शिक्षक भर्नादेखि तलब भुक्तानीसम्म वडा अध्यक्षको हस्तक्षेप हुने गरेको, तलब निकासा भएपछि निश्चित रकम फिर्ता दिन शिक्षकहरूलाई दबाब दिइने गरेको तथा असहयोग गरे जागिरबाट हटाइदिने धम्कीसमेत दिइने गरेको दाबी गरिएको छ । विद्यालय व्यवस्थापन खर्चका नाममा प्रधानाध्यापकबाट व्यक्तिगत चेक लिई पछि रकम निकालेर दुरुपयोग गर्ने गरिएको आरोप पनि स्थानीयले लगाएका छन् ।
वडास्थित स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमै नरहेपनि त्यसकै नाममा करिब ८ लाख रुपैयाँ बराबरको खर्च देखाई नक्कली बिल–भरपाई तयार पारिएको आरोप छ । कृषि क्षेत्रमा विनियोजित ५ लाख रुपैयाँ बराबरको तालिम कार्यक्रम पनि कागजमै सीमित रहेको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार वास्तविक रूपमा तालिम सञ्चालन नगरी पुराना तस्वीर र नक्कली कागजातका आधारमा बजेट निकासा गरिएको छ । स्प्रे ट्यांकी वितरण कार्यक्रममा समेत विगत आर्थिक वर्षका नागरिकता र भरपाई पुनः प्रयोग गरी वितरण भएको देखाइएको दाबी गरिएको छ ।
सार्वजनिक सडक किनारमा वृक्षारोपण नै नगरी रकम निकासा गरिएको, छठघाट व्यवस्थापन, बिजुली मर्मत, वडा कार्यालय व्यवस्थापन, निःशुल्क स्वास्थ्य शिविर, साइकल वितरण लगायतका शीर्षकमा पनि लाखौं रुपैयाँ दुरुपयोग भएको स्थानीयको आरोप छ । स्वास्थ्य शिविरमा औषधि वितरण वा प्रभावकारी उपचार सेवा नदिई सामान्य स्वास्थ्य परीक्षण र खानपान गराएर ५ लाख रुपैयाँ बराबरको खर्च देखाइएको दाबी गरिएको छ । विद्यालय कर्मचारी तलब तथा व्यवस्थापन खर्चमा समेत एउटै प्रकृतिको बजेट विभिन्न शीर्षकमा टुर्क्याएर राखिएको र त्यसबाट अनियमित रूपमा रकम निकासा गरिएको स्थानीयको आरोप छ ।
स्थानीय स्रोतका अनुसार वडाध्यक्ष सोनालाल चौरसियाले कर्मचारीमाथि दबाब दिई आफूअनुकूल काम गराउने गरेको तथा पालिका स्तरको अनुगमन समितिले समेत वास्तविक स्थलगत निरीक्षण नगरी कागजी रूपमा मात्र प्रतिवेदनमा हस्ताक्षर गरेर रकम निकासा गराउन सहयोग गरेको दाबी गरिएको छ । पालिकाभित्र जनप्रतिनिधिहरूले योजनाको बाँडफाँड आफैंबीच गरी आफ्ना निकट व्यक्तिलाई उपभोक्ता समिति बनाउने र एकअर्काको योजनामा विरोध नगर्ने सहमति जस्तै अवस्था रहेको आरोप पनि स्थानीयले लगाएका छन् । केही कर्मचारीले समेत नाम नखुलाउने सर्तमा आफूहरू दबाबमा काम गर्न बाध्य भएको र रकम निकासाको क्रममा निश्चित प्रतिशत असुल्ने चलन रहेको दाबी गरेका छन् ।
स्थानीयवासीले वडा नम्बर २ अन्तर्गत सञ्चालित सबै योजनाको फाइल, बिल–भरपाई, अनुगमन प्रतिवेदन तथा भुक्तानी प्रक्रियामाथि सम्बन्धित निकायबाट निष्पक्ष छानबिन भए ठूलो परिमाणमा भएको भनिएको अनियमितता बाहिर आउने र दुरुपयोग भएको सरकारी रकम असुलउपर हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।








प्रतिक्रिया दिनुहोस् !