गरुडा (रौतहट), १० असार । रौतहटको गरुडा नगरपालिकामा एक करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको तथ्य महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार नगरपालिकाको वित्तीय कारोबारमा एक करोड एक लाख ६० हजार ५४१ रुपैयाँ बराबरको कैफियत देखिएको छ । महालेखाले औंल्याएअनुसार नगरपालिकाले विभिन्न शीर्षकमा गरेको खर्चमध्ये उल्लेख्य रकम आवश्यक प्रक्रिया, प्रमाण र कागजातबिना नै भुक्तानी गरिएको पाइएको छ । कतिपय खर्च मेयर कन्थमणी जयसबाल तथा उनका छोराहरूको मौखिक निर्देशनका आधारमा गरिएको उल्लेख गर्दै प्रतिवेदनले वित्तीय अनुशासनको गम्भीर उल्लंघन भएको संकेत गरेको छ ।
खर्च सम्बन्धी विवरणमा बिल–भर्पाई, दररेट, कार्यसम्पन्न प्रतिवेदन तथा प्राविधिक प्रमाणहरू पर्याप्त रूपमा पेश नगरिएको महालेखाको निष्कर्ष छ । सार्वजनिक खरिद ऐन र नियमावलीले निर्धारण गरेका मापदण्ड पालना नगरी खर्च गरिएको, स्वीकृत प्रक्रिया पूरा नगरी भुक्तानी गरिएको तथा लेखा व्यवस्थापन कमजोर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाका अनुसार केही योजनाको काम सम्पन्न भएको दाबी गरिए पनि त्यसको पुष्टि गर्ने आधारभूत कागजात उपलब्ध छैनन् । कतिपय योजनामा कार्य मूल्याङ्कन स्पष्ट नभए पनि रकम भुक्तानी भइसकेको देखिएकाले खर्चको पारदर्शिता र प्रभावकारितामाथि प्रश्न उठेको छ ।
यस्तो अवस्थाले सार्वजनिक स्रोत–साधनको प्रयोग कति प्रभावकारी ढंगले भयो भन्ने विषयमा गम्भीर आशंका जन्माएको प्रतिवेदनले संकेत गरेको छ । वित्तीय अनुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउन, सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी बनाउन तथा नियमित लेखा परीक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । उता स्थानीयवासीले भने हरेक वर्षजसो यस्ता प्रतिवेदन सार्वजनिक भए पनि व्यवहारिक सुधार देख्न नपाएको गुनासो गरेका छन् । विकास निर्माणका लागि बजेट बढ्दै गए पनि त्यसको पारदर्शी र परिणाममुखी उपयोग हुन नसकेको उनीहरूको भनाइ छ ।
स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रश्न फेरि एकपटक चर्चामा आएको छ । नगरपालिकामा राजनीतिक पहुँच भएका व्यक्तिहरू र निकटवर्ती समूहको प्रभाव बढ्दै गएको आरोपसमेत स्थानीय स्तरमा सुनिन थालेको छ । महालेखाको प्रतिवेदनले उजागर गरेको आर्थिक कैफियतपछि नगरपालिकाको खर्च प्रणाली र निर्णय प्रक्रियामाथि थप निगरानी आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस् !