वीरगंज (पर्सा), ९ असार । विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच वितरण कार्यक्रम–२०८३’ भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेशनल प्याब्सन वीरगंज नगर अध्यक्ष तथा सगरमाथा स्कुलका संस्थापक जियालाल गुप्ताको सभापतित्व तथा कौशल श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका हेड ब्वाय, हेड गर्ल, विभिन्न हाउसका क्याप्टेन तथा उप–क्याप्टेनहरू, साथै कक्षा १ देखि १० सम्मका कक्षा मनिटरहरूलाई नेतृत्व र जिम्मेवारीको प्रतीकस्वरूप ब्याच, टाई तथा ब्यानर वितरण गरिएको थियो । उक्त सामग्री सभापति, प्रमुख अतिथि तथा अन्य अतिथिहरूद्वारा प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति जियालाल गुप्ताले नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी, अनुशासन, सेवा र समर्पणको अभ्यास भएको बताए । उनले विद्यार्थीहरूलाई आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै विद्यालय र समाजका लागि उदाहरणीय बन्न आग्रह गरे ।
‘आजका विद्यार्थी नै भोलिका सक्षम नागरिक र राष्ट्रनिर्माता हुन् । त्यसैले शिक्षासँगै नेतृत्व क्षमता, आत्मविश्वास र नैतिक मूल्यको विकासमा विशेष ध्यान दिन आवश्यक छ,’ गुप्ताले बताए । प्रमुख अतिथि कौशल श्रीवास्तवले विद्यालयले विद्यार्थीहरूलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व विकासका अवसर प्रदान गर्नु सकारात्मक र अनुकरणीय कार्य भएको उल्लेख गरे । उनले जिम्मेवारी वहन गर्न सिकेका विद्यार्थीहरू भविष्यमा सफल नेतृत्वकर्ताका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा हरिन्द्र कुशवाहा, नरेश कुर्मी, सुरेश साह, नरेश रौनियार तथा गौतम श्रीवास्तव लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै पत्रकारहरू राजेन्द्र सिंह राजपूत, जगत राई तथा दिपु वर्णवाल समेत सहभागिता रहेको थियो । विद्यालयका सञ्जीव यादवले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा सम्मानित विद्यार्थीहरूले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै विद्यालयको गौरव बढाउन प्रतिबद्ध रहने बताएका थिए ।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि श्रीवास्तवले, ‘आज प्रदान गरिएको ब्याच केवल एउटा चिन्ह होइन, यो जिम्मेवारी, अनुशासन, सेवा र नेतृत्वको यात्राको सुरुवात हो,’ भन्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस् !