कलैया (बारा), ३ असार । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता जितेन्द्र सोनलले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्दै मुलुकलाई अधिनायकवादतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । मधेश मिडिया काउन्सिलद्वारा बाराको कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित ‘स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता अभिमुखीकरण’ कार्यक्रममा सम्बोधन गर्दै सोनलले स्वतन्त्र सञ्चारमाध्यममाथि नियन्त्रणको प्रयास लोकतन्त्रका लागि घातक हुने बताए ।
उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन सरकारसँग आग्रह गरे । सोनलले संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि समेत हस्तक्षेप भइरहेको आरोप लगाए । निर्वाचन आयोगका पदाधिकारीहरूले आफ्नो संवैधानिक अधिकार क्षेत्रभन्दा बाहिर गएर सार्वजनिक अभिव्यक्ति दिइरहेको भन्दै उनले संवैधानिक संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा उनले नेपाल–भारत सीमासम्बन्धी सरकारी नीतिको पनि आलोचना गरे । सीमा व्यवस्थापन आवश्यक भएपनि सीमावर्ती क्षेत्रका नागरिकको परम्परागत सम्बन्ध र आर्थिक गतिविधिलाई असर पुग्ने गरी नियन्त्रण गर्न खोजिए मधेशमा असन्तुष्टि चर्किन सक्ने चेतावनी दिए । उनले नेपाल–भारत सीमा केवल दुई राष्ट्रबीचको सीमारेखा नभई सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धको माध्यमसमेत रहेको बताए । भारतसँगको सीमाबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउन नपाइने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सोनलले यस्तो निर्णय मधेशका नागरिकको हितविपरीत रहेको दाबी गरे । सीमामा अत्यधिक नियन्त्रणको नीति मधेशवासीले स्वीकार नगर्ने उनको भनाइ थियो ।
उनले प्रतिनिधिसभा निर्वाचनमा जनताले दिएको मतादेशको सम्मान गर्नुपर्ने उल्लेख गर्दै जनताको अपेक्षाअनुसार काम गर्नु सरकारको दायित्व भएको बताए । साथै प्रधानमन्त्रीले केही समयअघि नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै त्यसको पुष्टि गर्नुपर्ने, अन्यथा नैतिकताको आधारमा जिम्मेवारी लिनुपर्ने धारणा राखे । सोनलले सुशासनको नारासहित गठन भएको वर्तमान सरकार व्यवहारमा भने सुशासनको मर्मविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाए । पुराना राजनीतिक दलहरूको आलोचना मात्र गरेर सरकारले जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न नसकेको उनको टिप्पणी थियो ।
मधेश प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षणमा संघीय सरकारको पर्याप्त ध्यान नपुगेको गुनासो गर्दै उनले बाराको सिम्रौनगढस्थित कंकाली मन्दिर, रानीवास तथा बरियारपुरस्थित गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्न सरकारसँग माग गरे । मधेश मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा तथा जिल्ला अध्यक्ष रमेश सुवेदीलगायत वक्ताहरूले पत्रकारितामा आचारसंहिताको पालनाले सञ्चार क्षेत्रप्रति नागरिकको विश्वास थप मजबुत हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सञ्चार विज्ञ धर्मेन्द्र झाले पत्रकार आचारसंहिता, पेशागत उत्तरदायित्व, सञ्चारमाध्यमको विश्वसनीयता तथा मर्यादित पत्रकारिताको महत्वबारे प्रशिक्षण दिएका थिए । सो अवसरमा पूर्वमुख्यमन्त्री सोनल तथा पत्रकार महासंघ बारा अध्यक्ष सुवेदीलाई सम्मानसमेत गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस् !