जनकपुरधाम (धनुषा), ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन प्रथम राष्ट्रिय महाधिवेशनअघि नहुने भएको छ । पार्टीको निर्वाचन आयोगले समय अभाव, आन्तरिक विवाद तथा निष्पक्ष र सुरक्षित वातावरण सुनिश्चित गर्न कठिनाइ भएको भन्दै महाधिवेशनअघि अधिवेशन सम्पन्न हुने सम्भावना नरहेको जनाएको हो । निर्वाचन आयोगले जेठ २६ गते जारी गरेको सूचनामार्फत मधेश प्रदेश अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले सम्पूर्ण गतिविधि स्थगित गरिएको जानकारी दिएको थियो ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशनको मिति नजिकिएकाले मधेश प्रदेशको अधिवेशन तत्काल आयोजना गर्न सम्भव छैन । उनले विधि, प्रक्रिया र पद्धतिअनुसार काम गर्न मधेशमा चुनौती रहेको तथा शान्तिपूर्ण र सुरक्षित रूपमा अधिवेशन सम्पन्न गराउन कठिनाइ रहेको बताए । ‘महाधिवेशनअघि मधेश प्रदेशको अधिवेशन गराउन सम्भव देखिँदैन । समय पनि पर्याप्त छैन । बरु महाधिवेशनपछि विशेष समिति गठन गरेर अधिवेशन गराउनु उपयुक्त हुन सक्छ,’ केसीले बताए ।
मधेश प्रदेशमा देखिएको विवाद र दुई पक्षबीचको झडपका कारण पर्साबाहेक अन्य सात जिल्लाको अधिवेशन स्थगित भएको थियो । यद्यपि प्रदेश महामन्त्री मनिषकुमार साहले महाधिवेशनअघि नै अधिवेशन सम्पन्न गराउने प्रयास जारी रहेको बताएका छन् । उनका अनुसार सदस्यता नवीकरण, नेतृत्व चयनलगायत विषयमा देखिएका त्रुटि सच्याउन प्रदेश नेतृत्व तयार रहेको र यस विषयमा पार्टी नेतृत्व तथा निर्वाचन आयोगसँग निरन्तर छलफल भइरहेको छ । तर अहिलेसम्म आयोगबाट कुनै ठोस निर्णय नभएको उनले बताए । साहले निर्वाचित सांसदहरूले पार्टी स्थापना कालदेखि नै संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेकाले उनीहरूको सक्रियता स्वाभाविक भएको पनि उल्लेख गरे ।
यता जिल्ला तहका केही नेताहरूले पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा, मधेश प्रदेश सभापति तपेश्वर यादव तथा समानुपातिक सांसद पुरुषोत्तम यादवलगायत नेताहरूको स्वार्थका कारण अधिवेशन स्थगित भएको आरोप लगाएका छन् । मधेश प्रदेशमा विवाद जारी रहे पनि रास्वपाले अन्य प्रदेशमा संगठनात्मक प्रक्रिया अगाडि बढाएको छ । बागमती, कोशी र गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ भने लुम्बिनी प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । कर्णाली प्रदेशमा आइतबार र सुदूरपश्चिम प्रदेशमा सोमबार अधिवेशन हुँदैछ ।
पार्टी स्थापना भएको चार वर्ष पूरा भएको अवसरमा रास्वपाले असार ७, ८ र ९ गते चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजारसम्म प्रतिनिधिको सहभागिता रहनेछ । गत फागुनमा करिब तीन लाख रहेको पार्टी सदस्य संख्या जेठ मसान्तसम्म बढेर करिब ६ लाख पुगेको आयोगको दाबी छ ।









प्रतिक्रिया दिनुहोस् !