वीरगंज (पर्सा), १२ जेठ । पर्साको कालिकामाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ । गाउँपालिकाभर ० देखि १५ महिनासम्मका ४६० जना बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराएपछि एक विशेष कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको कार्यालय हरिहरपुर बिर्तास्थित सभाहलमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजमती देवी बरैनीले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बरैनीले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । उनले दिनरात खटेर जनस्वास्थ्य सेवामा योगदान पुर्याउने स्वास्थ्यकर्मी र स्वयंसेविकाको योगदानको उचित सम्मान हुनुपर्ने उल्लेख गरिन् । कार्यक्रमकी विशिष्ट अतिथि जनस्वास्थ्य अधिकृत खुशबु यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भएसँगै अब स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूको जिम्मेवारी अझ बढेको बताइन् । उनले बालबालिकालाई समयमै नियमित १३ प्रकारका खोप लगाउन सके विभिन्न रोगबाट बचाउन सकिने जानकारी दिँदै प्रत्येक नवजात शिशुको निगरानी र नियमित खोप सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।
त्यसैगरी वडा अध्यक्ष सोनालाल चौरसियाले खोप अभावका कारण पाँच वर्षमुनिका बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम रहने भएकाले चिकित्सकको सल्लाहअनुसार प्रत्येक खोप समयमै लगाउन अभिभावकलाई आग्रह गरे । पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै पालिकास्तरमा उत्कृष्ट कर्मचारीका रूपमा सिअहेब रबिता कुमारी चौधरीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साथै, मुडली स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गर्दै सम्मान गरिएको छ ।
कार्यक्रममा खोप अभियान सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो । सो अवसरमा मध्यान्ह राष्ट्रिय दैनिकका पत्रकार लालबाबु बानियाँ पनि सम्मानित भएका थिए । गाउँपालिका स्वास्थ्य प्रमुख धिरज कुमार साह, वडा अध्यक्षहरू संजय साह गोढ, सोनालाल चौरसिया, संजय पटेल, कार्यपालिका सदस्य, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन गाउँपालिका स्वास्थ्य सह–संयोजक निरञ्जन चौरसियाले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस् !