वीरगंज (पर्सा), १२ जेठ । पर्सा जिल्लामा बढ्दो गर्मी, सम्भावित मनसुनजन्य विपद्, सुख्खा तथा खडेरीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको समितिको बैठकले विपद् पूर्वतयारी, प्रतिकार्य, खोज तथा उद्धार, राहत वितरण र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको हो ।
बैठकले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना-२०८३’ लाई स्वीकृत गर्दै सम्बन्धित सबै निकायलाई सोही योजना अनुसार तयारी तथा कार्यान्वयनमा जुट्न निर्देशन दिएको छ । साथै जिल्लाभित्रका स्थानीय तहहरूलाई आफ्ना क्षेत्रमा मनसुन पूर्वतयारी योजना तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान आग्रह गरिएको छ । समितिको निर्णयअनुसार सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयहरूले बाढी, डुबान, हावाहुरी, पहिरो, वन डढेलो तथा खडेरीजस्ता सम्भावित विपद् न्यूनीकरणका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत–साधन तयारी अवस्थामा राख्नेछन् ।
जोखिमयुक्त बस्तीको पहिचान गरी आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने तथा खाद्यान्न, औषधि, कपडा र खानेपानीजस्ता अत्यावश्यक सामग्रीको भण्डारणलाई प्राथमिकता दिइने भएको छ । त्यसैगरी, बैठकले पानीजन्य रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सुख्खाग्रस्त क्षेत्रमा डिप बोरिङ, पाइपलाइन विस्तार, पानी ट्यांकी निर्माण, धारा जडान र खानेपानीको गुणस्तर परीक्षणलाई समेत प्रभावकारी रूपमा अघि बढाइने जनाइएको छ ।
गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त निर्देशनअनुसार मनसुनका बेला हुन सक्ने जनधनको क्षति न्यून गर्न सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । हालको मौसममा सर्पदंशको जोखिम समेत बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा स्थानीय तहहरूले सम्बन्धित निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, प्रशासनिक अधिकारी, रेडक्रस, गैरसरकारी संस्था तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस् !