मलंगवा (सर्लाही), २९ वैशाख । सर्लाहीका किसानलाई घोडगधा अर्थात् नीलगाईले असाध्य दुःख दिन थालेका छन् । पछिल्लो समय यहाँको दक्षिणवर्ती क्षेत्रमा अत्यधिक मात्रामा घोडगधा देखा परेको किसानले बताएका छन् । समूहमा देखापर्ने नीलगाईले हरेक अन्नबाली खाएर हैरान पारिरहेको कौडेना गाउँपालिका–३, पर्सा टोलका दीपलाल राय यादवले गुनासो गरे ।
नीलगाईले तरकारी, उखु र मकैबाली सखाप पारेको यादवले गुनासो गरे । अन्नबाली जोगाउन सर्लाहीका किसान रातदिन खेतमै बस्न थालेका छन् । हुल बाँधेर आउने नीलगाईका कारण खेतबारीमा एक्लै जानसमेत जोखिम रहेको यादवले गुनासो गरे ।
दक्षिणवर्ती कौडेना, गोडैता, बलरा, रामनगर, धनकौल, बसबरियालगायतका पालिकामा नीलगाई धेरै नै देखा परिरहेको स्थानीय किसानको भनाइ छ । नीलगाईबाट बाली जोगाउन किसानले तारबार गर्ने र स्पिकर बजाउने गरेका छन् । तर पनि नीलगाई जबरजस्ती पसेर बाली खान नछाडेको गोडैता नगरपालिका–६ का किसान हरिन्द्र साहले बताए ।
यसअघि महेन्द्र राजमार्गसँगै जोडिएको उष्ण प्रदेशीय बागवानी केन्द्रपरिसरभित्र धेरै देखिने नीलगाई अहिले जिल्लाभर नै जताततै देखा पर्न थालेका छन् । जिल्लाको दक्षिणवर्ती क्षेत्रमा नीलगाई र उत्तरी भेगमा जङ्गली बँदेलले किसानको बालीनाली नष्ट पारिरहेका छन् । दुई साताअघि उत्तरी चुरेवर्ती क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, परवानीपुरको झरझरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।
लालबन्दी नगरपालिका–१३, पत्थरकोटका अष्ट लामाले मकैलगायत प्रत्येक बालीमा बँदेल क्षति गर्ने गरेको गुनासो गरे । जिल्लाका किसानले व्यावसायिक मकै खेती बढाउँदै लगेको अवस्थामा बँदेलले दुःख दिएर हैरान पार्ने र नोक्सान पनि उत्तिकै गर्न थालेको हो । 








प्रतिक्रिया दिनुहोस् !