वीरगंज (पर्सा), २४ वैशाख । श्रम संस्कृति पार्टीको पर्सा जिल्ला समितिले जिल्लाभित्र रहेका सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने तयारी तत्काल रोक्न माग गरेको छ । पार्टीले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै वैकल्पिक पुनःस्थापनाको व्यवस्था नगरी कुनै पनि बस्ती हटाउन नहुने स्पष्ट पारेको हो ।
पार्टीका अनुसार पर्सा जिल्लाका विभिन्न ऐलानी, पर्ती तथा सार्वजनिक जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी नागरिकलाई बल प्रयोग गरेर हटाउने तयारी भइरहेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । श्रम संस्कृति पार्टी पर्साका उपाध्यक्ष वसिम शेखले सुकुम्बासी बस्ती हटाउने कुनै पनि कदम मानवीय तथा संवैधानिक दृष्टिले अस्वीकार्य हुने बताए । ज्ञापनपत्रमार्फत पार्टीले अन्य जिल्लामा पनि सुकुम्बासी बस्तीमाथि भइरहेको डोजर अभियान र बल प्रयोग तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
पार्टीले नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानजनक आवासको हक सुनिश्चित गरेको स्मरण गराउँदै संविधानको धारा ३७ अनुसार कानुनबमोजिम बाहेक कसैलाई पनि आफ्नो आवासबाट हटाउन नमिल्ने व्यवस्था रहेको उल्लेख गरेको छ । साथै धारा ५१ अनुसार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी पुनःस्थापनाको जिम्मेवारी राज्यकै भएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
श्रम संस्कृति पार्टीले नागरिकको जीवन, आवास र सम्पत्तिको सुरक्षा गर्नु राज्य तथा प्रशासनको दायित्व भएको उल्लेख गर्दै कुनै विकल्पबिना बल प्रयोग गरी विस्थापन गर्ने प्रयास कानुनी र मानवीय दुवै हिसाबले गलत हुने चेतावनी दिएको छ । पार्टीले पर्सा जिल्लाभित्र रहेका सम्पूर्ण सुकुम्बासी बस्तीमा डोजर चलाउने योजना तत्काल रोक्न, वास्तविक लगत संकलन गरी वर्गीकरण गर्न, दीर्घकालीन तथा सम्मानजनक पुनःस्थापनाको स्पष्ट योजना लागू गर्न र कुनै पनि विस्थापनअघि वैकल्पिक आवास सुनिश्चित गर्न प्रशासनसँग माग गरेको छ । 







प्रतिक्रिया दिनुहोस् !