वीरगंज (पर्सा), २२ वैशाख । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य तत्काल घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निर्धारण गरेको मूल्यअनुसार खरिद गर्नुपर्ने भएकाले मूल्य घटाउने सम्भावना अहिले नरहेको बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले हालको परिस्थितिमा सरकारलाई मूल्य घटाउने भन्दा पनि समायोजन गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे । उनका अनुसार आम उपभोक्ताबाट मूल्यवृद्धि नियन्त्रण गर्न दबाब आइरहेपनि सरकार स्वयंले अहिले खाना पकाउने ग्यासदेखि पेट्रोलियम पदार्थसम्मका वस्तुमा घाटा बेहोरेर बिक्री गरिरहेको अवस्था छ ।
सचिव राउतले स्वचालित मूल्य प्रणाली लागू गरिएमा हालको भन्दा अझ बढी मूल्य पर्ने अवस्था देखिने भएकाले तत्काल पूर्ण रूपमा सो प्रणालीमा जान नसकिएको बताए । उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले सरकारले मूल्य केही हदसम्म नियन्त्रणमै राखेर बिक्री गरिरहेको उनको भनाइ थियो ।
उनले भने, ‘महँगोमा खरिद गर्ने तर सस्तोमा बिक्री गर्नुपर्ने अवस्था छ, जसका कारण पहिलेको सञ्चित नाफा पनि समाप्त भइसकेको छ । त्यसैले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको हो । पछिल्लो समय सरकारले नियमित रूपमा मूल्यमा समायोजन गर्दै आएको छ, तर पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिए मूल्य अझ माथि जान सक्छ ।’
सचिव राउतका अनुसार हाल सरकार गठनपछि मूल्यलाई निरन्तर समायोजन गर्दै आएको भए पनि उपभोक्तामाथि ठूलो भार नपरोस् भनेर सन्तुलनमा राखिएको छ । त्यसैगरी उनले नेपाल आयल निगम मुनाफामा नरहेकाले हालका कर्मचारीलाई बोनस वितरण गर्ने अवस्था पनि नभएको स्पष्ट पारे । निगम घाटामा रहेको कारण बोनस दिने नीति लागू गर्न नसकिएको उनको भनाइ थियो । 







प्रतिक्रिया दिनुहोस् !