वीरगंज (पर्सा), २७ चैत । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन् ।
हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो । कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, कोषाध्यक्ष शम्भु सुमन, नेपाल फोटो पत्रकार महासंघ पर्साका पूर्व सचिव तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य तिवारी यादव र आरोहण साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले गुप्ताको सफलता पर्सा जिल्लाका लागि गौरवको विषय भएको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सफल खतिवडाले राहुल गुप्ताको निर्वाचनले पर्सा जिल्लाको पहिचान राष्ट्रिय स्तरमा थप सशक्त बनेको बताए । उनले गुप्ताको नेतृत्व र अनुभवले फोटो पत्रकारिताको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै पर्सा कार्यसमिति सधैं सहकार्य र समर्थनमा रहने स्पष्ट पारे। खतिवडाले यस उपलब्धिले अन्य युवाहरूलाई पनि पत्रकारिता क्षेत्रमा प्रेरणा मिल्ने धारणा राखे ।
यसैगरी, नवनिर्वाचित केन्द्रीय सदस्य राहुल गुप्ताले आफूलाई गरिएको सम्मानप्रति हार्दिक आभार व्यक्त गरे । उनले फोटो पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए । गुप्ताले देशभरका फोटो पत्रकारहरूको आवाजलाई मजबुत बनाउँदै संगठनलाई अझ प्रभावकारी र समावेशी बनाउने आफ्नो प्राथमिकता रहने उल्लेख गरे । कार्यक्रममा अन्य वक्ताहरूले पनि गुप्तालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको कार्यकाल सफल र उदाहरणीय रहने विश्वास व्यक्त गरेका थिए ।








प्रतिक्रिया दिनुहोस् !