काठमाडौँ, १४ चैत । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैगरी गृहमन्त्री रमेश लेखक पक्राउ पनि परेका छन् । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग लगातार छलफल गरेका थिए । प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो । राति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।
ओली पक्राउको विरोधमा एमाले सडकमा
एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ । सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन् ।
टिचिङ अस्पतालमा भर्ना भए ओली
एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो ।
उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । मुटु सम्बन्धी डाक्टरले पनि उनको जाँच गरेका थिए । ‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।
५०१ नम्बर बेड भएको भवनमा लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो । टिचिङको ५०१ नम्बर बेड मिर्गौला प्रत्यारोण गरेका बिरामीलाई राख्ने बेड हो । ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ ।
रिहाइको माग गर्दै विरोधका कार्यक्रमहरु सार्वजनिक
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।
एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएका छन् ।
एमालेले गरेका निर्णयहरु :
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने ।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।
ओली र लेखकको गिरफ्तारी गैरकानुनी : एमाले
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ । आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रह भएको बताए । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ ।’
आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग समेत गरेको छ । बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय पनि गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चाबहिल क्षेत्रमा भेला भएर केहीबेर अघिसम्म विरोध प्रदर्शन गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएपछि प्रहरीले आज बिहान एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको थियो ।
जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय
नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । एमालेका जनसंगठन २३ वटा छन् ।
एमाले अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने हिजो नै विज्ञप्ति निकालेर सरकारलाई चेतावनी दिएका थिए । आज बिहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक डाकिएको थियो ।








प्रतिक्रिया दिनुहोस् !