महोत्तरी, १३ चैत । महोत्तरीको एकडारा गाउँपालिका–२, एकडारामा पुर्खयौली घर भएका प्रधानमन्त्री बालेन्द्र शाहले देशको प्रधानमन्त्री पदको सपथ ग्रहण गरेपछि गाउँमा उत्सवको माहोल छ । स्थानीयवासीहरूले लड्डु वितरण गर्दै खुशी साटिरहेका छन् भने बिहानैदेखि एक अर्कालाई अबिरको टीका लगाउँदै उत्साह व्यक्त गरिरहेका छन् । देशकै पहिलो मधेशी प्रधानमन्त्री नियुक्त भएकोमा मधेशभर खुशी छाएको छ, र उक्त उत्सवबाट उनको पुर्ख्यौली गाउँ पनि पछि परेको छैन ।
प्रधानमन्त्रीका हजुरबुवासँग नाता पर्ने बद्री नारायण साहले गाउँमा खुशीको माहोल रहेको र मिठाई वितरण भइरहेको जानकारी दिए । उनले आगामी पाँच वर्षसम्म प्रधानमन्त्रीले निष्पक्ष ढंगले काम गर्ने अपेक्षा व्यक्त गरे । यस्तै, प्रधानमन्त्रीका छिमेकी जगत साह पनि मिठाई बाँड्दै भेटिएका छन् । उनले युवा प्रधानमन्त्रीको नेतृत्वमा देशमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै विशेषगरी कृषि क्षेत्रमा सुधारको अपेक्षा राखेका छन् । ‘मधेशको मुख्य पेशा कृषि भएकाले यस क्षेत्रमा आमूल परिवर्तन हुनुपर्छ,’ उनले भने ।
गाउँका युवाहरूले बिहानैदेखि १५० किलो लड्डु बनाएर वितरण गरिरहेका छन् । स्थानीय विनोद कुमार साहले रातभर जागेर लड्डु तयार पारेको र अहिले सडकमा हिँड्ने सबै यात्रुहरूलाई वितरण भइरहेको बताए । स्थानीयहरू अत्यन्तै उत्साहित देखिएका छन् । अबिर लगाउनेदेखि लड्डु वितरण र साँझ दीपावली मनाउने कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूले आफ्नो खुशी व्यक्त गरिरहेका छन् । प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि मधेश तथा समग्र देशका जनताको हितमा काम गर्ने अपेक्षा स्थानीयहरूले व्यक्त गरेका छन् । 








प्रतिक्रिया दिनुहोस् !