वीरगंज (पर्सा), २ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत कालिकामाई गाउँपालिकाको वडा नं. १ मुडली र वडा नं. ५ बिरन्चीबार्वामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले व्यापक घरदैलो अभियान सञ्चालन गरेका छन् । गाउँ टोलमा पुगेर उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकासलाई तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
घरदैलोका क्रममा रिजालले शिक्षा, स्वास्थ्य सेवा, सडक पूर्वाधार तथा रोजगारी सिर्जनाका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको उल्लेख गरे । ‘समृद्ध र सुरक्षित भविष्यका लागि निरन्तर विकास आवश्यक छ,” उनले भने, “त्यसका लागि नेपाली कांग्रेसलाई विश्वास गरेर अघि बढ्नुपर्छ ।’ उनले कांग्रेसलाई विकासको संवाहक शक्ति भन्दै जनताको साथ र समर्थन अपरिहार्य रहेको धारणा राखे ।
मतदातासँग समर्थन माग्दै उनले लोकतान्त्रिक मूल्य मान्यता सुदृढ गर्न र स्थायित्व कायम राख्न कांग्रेसलाई जिताउनुपर्ने आवश्यकता औंल्याए । स्थानीयवासीले घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए, जसले चुनावी माहोल थप सक्रिय बनेको संकेत दिएको छ । रिजालले आगामी दिनहरूमा पनि क्षेत्रका अन्य गाउँ तथा बस्तीमा पुगेर मतदाता भेटघाटलाई निरन्तरता दिने योजना सुनाए ।
कार्यक्रममा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्धन सिंह क्षेत्री, कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नविन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
घरदैलो अभियानमार्फत रिजालले पर्सा–४ मा कांग्रेसको संगठन सुदृढ गर्दै मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने प्रयासलाई तीव्रता दिएका छन् ।








प्रतिक्रिया दिनुहोस् !