वीरगंज (पर्सा), २६ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर-६ भौराटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील साह कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित उक्त कार्यक्रममा विशेषगरी जेनजी पुस्ताका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै कृषकहरूले भोग्दै आएका समस्याहरूको जानकारी लिएका थिए । यस अवसरमा स्थानीय कृषकहरूले तरकारी खेतीका लागि पर्याप्त सिँचाइ सुविधा, समयमा मल उपलब्ध गराउने व्यवस्था तथा उत्पादन भएको तरकारी सुरक्षित राख्न शीत भण्डार (कोल्ड स्टोर) को आवश्यकता औंल्याएका थिए ।
कृषकहरूको गुनासोप्रति प्रतिक्रिया जनाउँदै उम्मेदवार कानुले आफू निर्वाचित भए स्थानीय स्तरमै सिँचाइ प्रणालीको विकास, मल आपूर्ति सहज बनाउने र आवश्यक कृषि पूर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषिमा आधारित स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन व्यावहारिक र दीर्घकालीन योजना लागू गरिने उनको भनाइ थियो ।
यसका साथै उनले जेनजी युवाहरूका लागि उच्च शिक्षा र कृषि शिक्षाको पहुँच स्थानीय तहमै सुनिश्चित गर्ने योजना सार्वजनिक गरे । बेरोजगार महिला तथा युवालाई लक्षित गरी प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गरेर रोजगारी सिर्जना गरिने विषयलाई प्राथमिकतामा राखिने उनले बताए ।
उम्मेदवार कानुले स्थानीय महिलाहरूका लागि पशुपालनसम्बन्धी उन्नत सीप तालिम उपलब्ध गराउने र स्वरोजगारका अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । यसले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।
वर्षाको पानी तथा नदीका कारण बर्सेनि हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी योजना कार्यान्वयन गरिनेछ । साथै, दीर्घकालदेखि देखिँदै आएको मल अभावको समस्या समाधान गर्दै कृषि उत्पादनलाई प्रवद्र्धन गरिने बताइएको छ । समग्रमा स्थानीय आवश्यकता केन्द्रित नीति अवलम्बन गर्दै समृद्ध समाज निर्माणतर्फ पार्टी अग्रसर हुने दाबी रास्वपाले गरेको छ ।
घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा सन्तुष्टि व्यक्त गर्दै आफूहरूको समस्या संसदसम्म पुर्याइदिन आग्रह गरेका थिए । उम्मेदवार कानुले जनताको विश्वासलाई कार्यान्वयनमार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी अभियानलाई अझ सशक्त बनाउने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस् !