वीरगंज (पर्सा), २४ माघ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन् । शनिबार बिहानै नगवा पुगेका यादवको कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय उपस्थिति देखिएको थियो । कार्यक्रमका क्रममा नगवावासीबाट प्राप्त आत्मीयता, समर्थन र उत्साहप्रति धन्यवाद व्यक्त गर्दै उनले नगवाका जनता आफ्नो पक्षमा दृढ रूपमा उभिएको दाबी गरे ।
स्थानीयले जितको आशीर्वाद दिएको उल्लेख गर्दै यादवले जनताको अपेक्षाअनुसार निरन्तर सेवामा सक्रिय रहेकै कारण आफूले विश्वास र साथ प्राप्त गरेको बताए । घरदैलो कार्यक्रमपछि नगवा गाउँको अग्रभागमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विगतमा नगवाको विकासका लागि प्रयासरत रहेको र आगामी दिनमा विकास, शिक्षा, स्वास्थ्य तथा युवाको रोजगारीलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । युवाहरूलाई कुनै समस्या वा गुनासो भए सिधै सम्पर्क गर्न आग्रह गर्दै यादवले सुख–दुःखमा सधैं अग्रपंक्तिमा रहने वाचा दोहोर्याए ।
घरदैलो तथा कोणसभामा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा, अरुण यादव, भुषाल चौरसिया, देवनाथ प्रसाद चौरसिया, मगदिश यादव, बादल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित नेताहरूले विपक्षीहरूले फैलाएको भ्रम विपरीत नगवाको अवस्था सकारात्मक रहेको र नगवावासी उम्मेदवार प्रदीप यादवको समर्थनमा एकजुट रहेको दाबी गरेका थिए ।
सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश
पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवामा शनिबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । एमाले उम्मेदवार प्रदीप यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी उपाध्यक्ष कुर्बान खानको नेतृत्वमा सयौं नेता–कार्यकर्ताहरू एमालेमा आबद्ध भएका छन् ।
कुर्बान खानसँगै अब्दुल रहमान अन्सारी, खलील अन्सारी, लाल खान, आजाद अन्सारी, सदरे आलम, सकिना खातुन लगायतका नेताहरूले पनि एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरूलाई उम्मेदवार यादवले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे ।
सो अवसरमा बोल्दै यादवले मधेशका मुद्दाको संरक्षण र समाधानका लागि आफू एमालेमा सक्रिय भएको उल्लेख गर्दै मधेशका वास्तविक सवालहरू सम्बोधन गर्न एमाले सक्षम रहेको बताए । उनले वर्तमान समयमा राष्ट्र र राष्ट्रियता चुनौतीमा परेको दाबी गर्दै यस परिस्थितिबाट मुलुकलाई निकास दिन एमालेको विजय आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, प्रदेश सभाका पूर्व सदस्य जन्नत अन्सारी, एमाले नेता सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि वीरगंज महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारसहित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका छन् । रौनियार, २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालिन लोसपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनि जसपा नेपालमा आबद्ध थिए ।
वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा शनिबार आयोजित नेकपा एमालेको कार्यक्रममा वडाध्यक्ष रौनियार, वडा सदस्यहरु बच्चा महतो, कृष्णा दास लगायतका नेताकार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य विजय सरावगी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, नेता सुन्दर कुर्मी लगायतकाकोपनि सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस् !