वीरगंज (पर्सा), ६ माघ । वीरगंजस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटी बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । पर्सा जिल्ला अदालतमा १ करोड रुपैयाँ बराबरको प्रभु बैंकको बैंक ग्यारेन्टी पेश गरेपछि मंगलबार नै लामिछाने रिहा भएको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालय पर्साले उक्त सहकारीमा भएको ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको रकम अपचलन भएको दाबी गर्दै लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा गत जेठ ३० गते जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । साथै, सरकारी वकिल कार्यालयले संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) अनुसार थप सजायको मागसमेत अदालतसमक्ष पेश गरेको थियो ।
त्यही मुद्दामा मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्र सुबेदीको इजलासमा थुनछेक बहस भएको थियो । बयान तथा थुनछेक बहसका लागि लामिछाने स्वयम् अदालतमा उपस्थित भएका थिए । बहसपछि न्यायाधीश सुबेदीको इजलासले उनलाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी अनुसन्धान पूरा गरी पर्सा प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको अध्ययनपछि सरकारी वकिल कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो । धरौटी बुझाएर रिहा भएलगत्तै लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा मनोनयन दर्ता गर्न वीरगंजबाट प्रस्थान गरेका थिए ।








प्रतिक्रिया दिनुहोस् !