काठमाडौं, १७ पुस । आगामी आम निर्वाचनलाई लक्षित गर्दै उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई केन्द्रबिन्दू बनाएका छन् । झण्डै एक वर्ष कारागारमा बसेर रिहा भएका रास्वपा सभापति रवि लामिछानेको सक्रियतापछि सुरु भएको एकता अभियानले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । यही अभियानकै परिणामस्वरूप काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपामा समाहित भएका छन् ।
रवि लामिछानेले सबैभन्दा पहिला बालेन शाहसँग एकताको पहल गरेका थिए । निरन्तर छलफल र प्रयासपछि बालेन रास्वपामा आबद्ध भए । त्यसपछि अन्तिम चरणमा आएर उज्यालो नेपाल पार्टीलाई पनि रास्वपामा समाहित गराइएको हो । यस एकतासँगै बनेको सहमतिअनुसार बालेन शाहलाई रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ भने कुलमान घिसिङ पार्टीको दोश्रो वरियतासहित रास्वपामा प्रवेश गरेका छन् ।
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ सम्मिलित यो वैकल्पिक राजनीतिक शक्तिले आउँदो निर्वाचनमा बहुमतसहितको सरकार निर्माण गर्ने योजना सार्वजनिक रूपमै अघि सारेको छ । उनीहरूले कार्यकर्ता र जनतालाई स्पष्ट रूपमा सरकार गठनको आश्वासन दिँदै आएका छन् । तर, निर्वाचनको वास्तविक मत परिणामले अग्रिम भागबण्डा र शक्तिको बाँडफाँटलाई न्याय दिन्छ वा दिँदैन भन्ने विषय भने अहिल्यै ठोस रूपमा आँकलन गर्न सकिने अवस्था छैन ।
कस्तो छ रवि-बालेन ‘बोण्डिङ’ ?
एकताको चर्चा सुरु हुँदा फरक चरित्र र पृष्ठभूमिका रवि लामिछाने र बालेन शाहबीच सहमति जुट्न कठिन हुने व्यापक अनुमान गरिएको थियो । तर निरन्तर संवाद र प्रयासपछि उनीहरू एकतामा पुगेका हुन् । एकता घोषणा लगत्तै बालेन शाहले सामाजिक सञ्जालमा रास्वपाप्रतिको अपनत्व देखाउने संकेत गरेका थिए । उनले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ राखेर फेसबुकमा ‘शुभप्रभात’ लेख्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
त्यसपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपामा समाहित हुँदा प्रमुख साक्षी बालेन शाह नै बने । कुलमानको प्रवेशपछि बालेनले रवि, कुलमान र आफ्नो संयुक्त तस्बिर सार्वजनिक गर्दै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने स्टाटस लेखे । यसले रास्वपाप्रतिको स्वीकारोक्ति र भावनात्मक सम्बन्धलाई थप स्पष्ट पारेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
उता, रवि लामिछानेले पनि बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको विषयलाई पटक–पटक दोहोर्याउँदै आएका छन् । उनले बालेनलाई परिवर्तनको वाहक, नयाँ पुस्तामा राजनीतिक चेतना फैलाउने व्यक्तित्वका रूपमा प्रशंसा गरेका छन् । महानगर प्रमुखका रूपमा बालेनले परिवर्तनको झिल्को बालेको र अब एकतापछि त्यो झिल्को राँकोमा रूपान्तरण हुने भन्दै रविले बालेनसँगको सहकार्यप्रति उत्साहजनक टिप्पणी गरेका छन् ।
रविको बालेनप्रतिको समर्पित अभिव्यक्ति र बालेनको रास्वपाप्रतिको सार्वजनिक स्वीकारोक्तिले रवि–बालेन ‘बोण्डिङ’ क्रमशः बलियो बन्दै गएको देखिन्छ । यदि यही सहकार्य र सह–अस्तित्व दीर्घकालीन रूपमा कायम रह्यो भने, यही एकताका कारण रास्वपाले व्यापक जनसमर्थन पाउने प्रष्ट देखिन्छ ।
समानुपातिक सूचीमा उठेका प्रश्न र सच्याउने प्रतिबद्धता
यसैबीच, रास्वपाले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत सांसद बन्ने उम्मेदवार सूची तयार गर्दा नाता र दातालाई प्राथमिकता दिएको आरोप खेप्दै आएको छ । परम्परागत दलहरूमा देखिने यस्ता विकृतिमाथि कडा प्रश्न उठाउँदै आएको रास्वपामाथि नै यस्तै आरोप लागेपछि राजनीतिक वृत्तमा आलोचना चर्किएको थियो ।
आलोचनापछि रास्वपाले सूचीमा त्रुटि भएको स्वीकार गर्दै नामावली सच्याउने प्रतिबद्धता जनाएको छ । पार्टी सभापति रवि लामिछानेले आफन्तवाद वा आर्थिक प्रभावका आधारमा उम्मेदवार सिफारिस नगरिएको दाबी गर्दै, यदि त्यस्तो देखिए पुनरविचार गरिने स्पष्ट पारेका छन् ।
उता, कुलमान घिसिङले पनि समानुपातिक सांसद सिफारिसमा आफ्नो नाम जोडेर आएका टिप्पणीप्रति सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका छन् । आफन्तको नाम सिफारिस गरिएको आरोपलाई खण्डन गर्दै उनले लेखेका छन्, ‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध उभिँदै आएको छु । तथ्य नबुझी फैलाइने नियोजित हल्ला र आरोप दुःखद छन् । असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर बदनाम गराउने प्रयास आपत्तिजनक छ ।’ साथै, उनले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यसरी, रास्वपाले आलोचनापछि आफन्तवाद र आर्थिक स्वार्थसँग जोडिएका पात्रको नाम फिर्ता लिने प्रतिबद्धता जनाइसकेको छ । तर बन्द सूचीमा समावेश भइसकेका नामहरू पुनः फिर्ता गर्न मिल्छ वा मिल्दैन भन्ने विषय भने अहिले कानूनी बहसको विषय बनेको छ ।








प्रतिक्रिया दिनुहोस् !