वीरगंज (पर्सा), १० असार । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिएको छ । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार असार ११ गतेदेखि असार १४ गतेसम्म विद्यालय बन्द रहनेछन् । यो निर्णय बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी गरिएको हो ।
बढ्दो तापक्रम र गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उक्त अवधिभर नियमित पठनपाठन स्थगित गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले सबै विद्यालयलाई सूचनाको पालना गर्न तथा आवश्यक समन्वय गर्न निर्देशन दिएको छ । शिक्षा प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै बिदाको व्यवस्था गरिएको उल्लेख छ ।
हाल तराई–मधेशका जिल्लाहरूमा अत्यधिक गर्मी बढिरहेका बेला विद्यालय बन्द गर्ने निर्णयले विद्यार्थी, अभिभावक तथा शिक्षकलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस् !