वीरगंज (पर्सा), ११ चैत । नेपाल–भारत सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बुधबार रक्सौलस्थित सशस्त्र सीमा बल (एसएसबी) मुख्यालयमा इन्डो–नेपाल संयुक्त फिल्ड सर्वे टोली (एफ.एस.टी.) को पहिलो बैठक सम्पन्न भएको छ । सीमावर्ती जिल्लाका उच्च तहका प्रशासनिक र सुरक्षा अधिकारीहरूको सहभागितामा भएको यो बैठकलाई सीमा सुरक्षाको दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
बैठकमा भारतीय पक्षबाट सुपौल, मधुबनी, सीतामढी, पूर्वी चम्पारण तथा पश्चिमी चम्पारण जिल्लाका जिलाधिकारी (डीएम) र प्रहरी प्रमुख (एसपी) सहभागी भएका थिए । त्यस्तै, नेपाली पक्षबाट सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको उपस्थिति रहेको थियो ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी चम्पारणका डीएम सौरभ जोरवालले गरेका थिए भने नेपाली टोलीको नेतृत्व सिराहाका सीडीओ सुरेन्द्र पौडेलले सम्हालेका थिए । बैठकको सुरुवातमा भारतीय पक्षले सहभागी सबैलाई स्वागत गरेको थियो ।
छलफलका क्रममा सातौँ बाउन्ड्री वर्किङ ग्रुपको कार्यादेश र १२ औँ सर्वे अफिसियल कमिटीका सिफारिसका आधारमा फिल्ड सर्वे टोलीका जिम्मेवारीहरूबारे विस्तृत विचार–विमर्श गरिएको थियो । बैठकमा सीमा स्तम्भहरूको मर्मतसम्भार, नयाँ स्तम्भ स्थापना, हराएका स्तम्भहरूको पुनःनिर्माण तथा क्षतिग्रस्त संरचनाको सुधार जस्ता विषयमा सहमति जुटाइएको छ । साथै, ड्रोन (यु.ए.भि.) को प्रयोगमार्फत विस्तृत नक्सांकन गर्ने र इन्डो–नेपाल सीमा सन्दर्भ फ्रेम तयार गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति कायम भएको छ ।
बैठकको सफल सञ्चालनका लागि स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको थियो । अनुमण्डल पदाधिकारी मनीष कुमारको नेतृत्वमा सुरक्षालाई सुदृढ बनाइएकाले सहभागीहरूलाई सहज र सुरक्षित वातावरण प्राप्त भएको थियो । अनुमण्डल पदाधिकारी मनीष कुमारले यस्ता उच्चस्तरीय पहलहरूले दुई देशबीचको सीमा सुरक्षा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
विशेषज्ञहरूले पनि यस सहकार्यले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन् । साथै, यसबाट अवाञ्छित तथा राष्ट्रविरोधी गतिविधिहरू नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । लामो समयदेखि कायम रहेको नेपाल–भारत मित्रतापूर्ण सम्बन्धको झल्को उक्त बैठकमा प्रष्ट देखिएको थियो । दुवै देशका अधिकारीहरूले पारस्परिक सम्मान र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
यो बैठक केवल सीमा सुरक्षासम्म सीमित नभई दुई देशबीचको समन्वय, सहकार्य र क्षेत्रीय स्थायित्वका लागि समेत महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !