वीरगंज (पर्सा), ९ चैत । वीरगंज उद्योग वाणिज्य संघले पर्सा जिल्लाको नव निर्वाचित ४ वटै क्षेत्रका सांसदहरुलाई सम्मान गरेको छ । उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच चारैजना नव निर्वाचित सांसदहरुलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नव निर्वाचित पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्त, क्षेत्र नं. २ का सांसद सुशिल साह कानु, क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसिया तथा पर्सा क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्यलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै नव निर्वाचित सांसदहरुले उद्योग वाणिज्य संघ तथा वीरगंजका उद्योगी व्यापारीहरुलाई धन्यवाद ज्ञापन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा पर्सा क्षेत्र नंं. २ का सांसद सुशिल साह कानुले वीरगंज उद्योग वाणिज्य संघप्रति आभार व्यक्त गर्दै आफूहरूलाई सम्मान गरिएकोप्रति कृतज्ञता प्रकट गरे ।
कार्यक्रममा बोल्दै उनले उद्योगी, व्यवसायी तथा आम जनसमुदायबाट प्राप्त समर्थन, सहयोग र विश्वासकै कारण आफू प्रतिनिधिसभासम्म आइपुगेको उल्लेख गरे । ‘आज प्राप्त सम्मानले मेरो जिम्मेवारी झनै बढाएको अनुभूति भएको छ,’ उनले भने, ‘अब पर्साको आर्थिक समृद्धि, औद्योगिक विकास र जनअपेक्षा पूरा गर्न अझ जिम्मेवार ढंगले काम गर्नेछु ।’
उनले पर्सा जिल्लाको आर्थिक संरचनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उद्योग व्यवसायमै आधारित विकास मोडललाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । वीरगंजलाई औद्योगिक हबको रूपमा स्थापित गर्ने सम्भावना औंल्याउँदै उनले पूर्वाधार विकास, लगानीमैत्री वातावरण र नीतिगत स्थायित्वमा ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए ।
कार्यक्रमका क्रममा उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका समस्या, नीतिगत अस्पष्टता, कर प्रणाली, पूर्वाधार अभाव लगायतका विषयहरू पनि उठाइएको थियो । ती सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाइएको छ । ‘यहाँहरूले उठाउनु भएका मुद्दा र सुझावहरू केवल सुन्ने मात्र होइन, कार्यान्वयन गर्ने दिशामा हामी निरन्तर लागिरहनेछौँ,’ उनले स्पष्ट पारे ।
यस्तो प्रकारको संवाद र सम्मान कार्यक्रमले सार्वजनिक तथा निजी क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । विशेषगरी पर्सा जस्तो औद्योगिक सम्भावना बोकेको जिल्लामा नीति निर्माता र उद्यमीबीचको सहकार्यले दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । कार्यक्रमले प्रतिनिधि र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै विकासका साझा एजेण्डा तय गर्ने दिशामा सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ । साथै, आगामी दिनहरूमा निरन्तर सहकार्य, सुझाव र मार्गदर्शनको अपेक्षा समेत व्यक्त गरिएको छ ।








प्रतिक्रिया दिनुहोस् !