वीरगंज (पर्सा), ११ मंसिर । जनमत पार्टी पर्सा र वीरगंज महानगर समितिको संयुक्त आयोजनामा सञ्चालित लोककल्याणकारी अभियानअन्तर्गत निःशुल्क आँखा जाँच तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शिविरको दोस्रो चरण आज वीरगंज महानगरपालिका वडा नम्बर–१६, इनर्वामा सम्पन्न भएको छ ।
अभियानको तेस्रो वर्षअन्तर्गत आयोजित दोस्रो शिविरमा १५० जनाले आँखा परीक्षण गराएका छन् । परीक्षणका क्रममा ४० जनामा मोतिबिन्दुको समस्या फेला परेको छ । मोतिबिन्दु पुष्टि भएका सबैको शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा निःशुल्क गरिने जनाइएको छ ।
यसै अभियानअन्तर्गत तेस्रो शिविर भोलि शनिबार बिहान ८ बजेदेखि वीरगंज महानगरपालिका वडा नम्बर–३२, चोर्नीमा सञ्चालन हुने आयोजकले जनाएको छ। आयोजकले स्थानीयवासीलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ ।
अभियान संयोजक रम्भा मिश्रको संयोजनमा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सहसचिव सत्जीव साह, जिल्ला प्रवक्ता सहनवाज राकी, जिल्ला सदस्यहरू तुलसी राम, कृष्ण (लड्डु) प्रसाद कानु, कुसुम सरार्फ, अलि अकबर मियाँ तथा वडा नम्बर–१६ का वडा समिति अध्यक्ष जावेद अन्सारीलगायत नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।
राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई जनताको सेवा, स्वास्थ्य र सामाजिक कल्याणसँग जोडिनुपर्ने मान्यताका साथ जनमत पार्टी पर्साले यस्ता लोककल्याणकारी अभियानलाई निरन्तरता दिँदै आएको जिल्ला प्रवक्ता सहनवाज राकीले जानकारी दिए ।


























प्रतिक्रिया दिनुहोस् !