वीरगंज (पर्सा), ११ मंसिर । वीरगंजमा संचालित क्यासिनोमा नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराई जुवा खेलाउने गतिविधि भइरहेको तथ्य सार्वजनिक भएको छ । वीरगंज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रा.लि. (क्यासिनो) मा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने तथा खेलाउने कार्यमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि क्यासिनोभित्र भइरहेको गैरकानुनी गतिविधिको पर्दाफास भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार २०८३ मंसिर १० गते राति करिब ११ बजेर ५० मिनेटको समयमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो । सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमध्ये नौ जना क्यासिनोभित्र प्रवेश गरी जुवा खेल्ने कार्यमा संलग्न रहेको र तीन जना नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जुवा खेल्ने नौ जना प्रहरी नियन्त्रणमा
प्रहरीका अनुसार क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका नौ जनामध्ये वीरगंज महानगरपालिका निवासी ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोषकुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह रहेका छन् ।
त्यसैगरी पर्सागढी नगरपालिका निवासी २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिका निवासी ४७ वर्षीय गुनजमान मोक्तान, सिन्धुलीको मरिण गाउँपालिका निवासी २७ वर्षीय विनोदकुमार लो र काठमाडौंको शंखु नगरपालिका निवासी ४० वर्षीय राजेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।
नेपालीलाई क्यासिनो प्रवेश गराउने तीन जना पनि पक्राउ
यस प्रकरणमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका निवासी ५४ वर्षीय तिलकप्रसाद भट्ट, पर्साको वीरगंज महानगरपालिका निवासी ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिका निवासी ४६ वर्षीय दीपकराज पराजुली रहेका छन् ।
यसरी क्यासिनोमा जुवा खेल्ने र नेपालीलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न गरी जम्मा १२ जना प्रहरी नियन्त्रणमा परेका छन् ।
क्यासिनो सञ्चालनमाथि उठ्यो गम्भीर प्रश्न
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ पर्नुले वीरगंजमा संचालित क्यासिनोहरूको गतिविधि, प्रवेश व्यवस्थापन तथा कानुनी प्रावधानको कार्यान्वयनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
क्यासिनो सञ्चालनका क्रममा नेपाली नागरिकको प्रवेश नियन्त्रण गर्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन भइरहेको छ कि छैन भन्ने विषयमा समेत यो घटनाले चासो बढाएको छ । क्यासिनोमा नेपालीलाई प्रवेश गराउने र जुवा खेलाउने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेपनि यस्तो गतिविधि कसरी संचालन भइरहेको थियो र यसमा अरू कसैको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका सबै १२ जनालाई कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको छ ।
अब अनुसन्धानले क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराउने र जुवा खेलाउने गतिविधिको वास्तविक सञ्जाल, त्यसमा संलग्न अन्य व्यक्तिहरू तथा यसको सञ्चालन प्रक्रियाबारे थप तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस् !