परवानीपुर (बारा), ६ मंसिर । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीका २७ वर्षीय सत्येन्द्र कुमार राउतको कुशको शव बनाएर हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।
बाढीमा बेपत्ता भएपछि सत्येन्द्रको परिवारले लामो समयसम्म खोजी गरे पनि उनको अवस्था पत्ता लगाउन सकेन । सरकारी निकायमार्फत शव पहिचान तथा खोजीका विभिन्न प्रयास गर्दा समेत कुनै जानकारी प्राप्त नभएपछि परिवारले गाउँकै श्मशान घाटमा कुशको शव बनाएर दाहसंस्कार गरेको हो ।
सत्येन्द्र रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन अफ चाइनाको ठेक्काअन्तर्गत विगत एक वर्षदेखि सेफ्टी अफिसरका रूपमा कार्यरत थिए। बाढीका दिन उनी सम्पर्कविहीन भएका थिए । उनका श्रीमती ममता कुमारी र डेढ वर्षीय छोरा प्रिन्स पटेल छन् । सत्येन्द्रका बुबा रामसनेही राउत र आमा बचिया देवी हुन् । 


























प्रतिक्रिया दिनुहोस् !