जनकपुरधाम (धनुषा), ६ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार दिउँसो ४ बजेसम्मको समय दिइएको थियो । तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । उनले विश्वासको मत प्राप्त गर्ने तयारीसमेत अघि बढाएका छन् । यादवको नियुक्तिसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १६८ को उपधारा (३) अनुसार नियुक्त मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अब यादवका लागि प्रदेशसभामा आवश्यक समर्थन जुटाएर विश्वासको मत लिनु प्रमुख चुनौती बनेको छ ।



























प्रतिक्रिया दिनुहोस् !