वीरगंज (पर्सा), १५ कात्तिक । वर्षौंदेखि औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदी सफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि सरकारी संयन्त्र सक्रिय भएको छ । प्रधानमन्त्री कार्यालयबाट निर्देशन जारी भएसँगै उद्योग मन्त्रालयको टोली वीरगञ्ज पुगेर नदी प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि सरोकारवाला निकायसँग छलफल र समन्वयमा जुटेको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार उद्योग मन्त्रालयका प्रमुख स्वकीय सचिव आशिष् सुवेदीसहितको टोलीले वीरगंजमा सरकारी अधिकारी, स्थानीय सरकार, उद्योगी–व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल अघि बढाएको जेन–जी पर्साका संयोजक विशेष साहले जानकारी दिएका छन् । टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उद्योगी–व्यवसायी, नारायणी सिँचाइ कार्यालयका प्रतिनिधि तथा जेन–जी पर्साको टोलीसँग छुट्टाछुट्टै समन्वय गरेको छ ।
छलफलमा नदी प्रदूषणका प्रमुख कारण पहिचान गर्ने, औद्योगिक फोहोर नियन्त्रण गर्ने र सफाइ अभियानलाई परिणाममुखी बनाउने विषयलाई प्राथमिकता दिइएको छ । अभियानलाई प्रभावकारी बनाउन जेन–जी पर्साका संयोजक विशेष साह पनि सक्रिय रूपमा समन्वय गरिरहेका छन् । उनले सिर्सिया नदीको प्रदूषण कुनै एक निकायको प्रयासले मात्र नियन्त्रण सम्भव नहुने भन्दै सरकार, महानगरपालिका, उद्योगी–व्यवसायी र स्थानीय नागरिकबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
यस अभियानको तत्कालीन लक्ष्य आगामी छठ पर्वअघि सिर्सिया नदीलाई सफा बनाउनु रहेको छ । तर, सरसफाइ गरेर मात्र समस्या समाधान नहुने भएकाले नदीमा औद्योगिक फोहोर, रसायन तथा दूषित पानी मिसिन नदिने दीर्घकालीन व्यवस्था निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको छ । वीरगंजको वातावरणीय अवस्था र हजारौँ स्थानीय बासिन्दाको जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सिर्सिया नदी लामो समयदेखि औद्योगिक प्रदूषणको मारमा छ ।
विभिन्न उद्योगबाट निस्कने फोहोर तथा दूषित पानी नदीमा मिसिँदा नदीको प्राकृतिक अवस्था बिग्रनुका साथै आसपासका बस्ती र वातावरणमा समेत प्रतिकूल असर पर्दै आएको छ । प्रधानमन्त्रीको चासोपछि मन्त्रालयदेखि स्थानीय प्रशासन र महानगरपालिकासम्म सक्रिय हुन थालेकाले यसपटक नदी सफाइ अभियानले ठोस परिणाम दिने अपेक्षा गरिएको छ । तर, अभियानलाई छठ पर्वसम्मको सरसफाइमा मात्र सीमित नराखी उद्योगबाट निस्कने प्रदूषित पानीको व्यवस्थापन, नियमित अनुगमन र प्रदूषण फैलाउने उद्योग तथा पक्षमाथि प्रभावकारी कारबाही सुनिश्चित गर्नुपर्ने आवश्यकता छ ।
सिर्सिया नदीलाई स्वच्छ बनाउने अभियान केवल फोहोर हटाउने कार्यक्रम नभई वीरगंजको वातावरण संरक्षण, नागरिकको स्वास्थ्य सुरक्षा र भावी पुस्तालाई स्वच्छ प्राकृतिक सम्पदा हस्तान्तरण गर्ने दीर्घकालीन अभियानसमेत हो ।





























प्रतिक्रिया दिनुहोस् !