वीरगंज (पर्सा), १५ कात्तिक । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडक विस्तारका क्रममा प्रभावित हुने घरधनी तथा व्यापारीहरू न्याय र उचित क्षतिपूर्तिको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सडकमा उत्रिएका छन् । राज्यले एउटै राजमार्गका विभिन्न खण्डमा फरक–फरक मापदण्ड अपनाएको भन्दै उनीहरूले सर्वोच्च अदालत र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘वीरगंज मुख्य सडकवासी पीडित समिति’को ब्यानरमा आइतबार दिउँसो करिब २ बजे माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले आफूहरूमाथि अन्याय र विभेद भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन् । वीरगंजबाट काठमाडौं पुगेका घरधनी राजेश सौनियार, जवाहीर प्रसाद गुप्ता, कुन्दन रौनियारलगायतले विभिन्न माग लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागिता जनाएका थिए ।
प्रदर्शनकारीहरूको मुख्य असन्तुष्टि त्रिभुवन राजमार्गको काठमाडौं–हेटौँडा खण्ड र वीरगंज खण्डका सम्बन्धमा सर्वोच्च अदालतबाट भएका फरक–फरक फैसलाप्रति रहेको छ । एउटै राजमार्गमा पर्ने सडक खण्डका लागि फरक मापदण्ड र व्यवहार अपनाइनु विभेदपूर्ण भएको उनीहरूको जिकिर छ । ‘एउटै त्रिभुवन राजमार्गमा सर्वोच्च अदालतको फैसला फरक–फरक किन ?’ भन्ने प्रश्नसहित उनीहरूले राज्यको विभेदकारी नीति अन्त्य गरी वीरगञ्जका सडकपीडितलाई समान न्याय दिन माग गरेका छन् ।
प्रदर्शनमा सहभागी घरधनीहरूले आफूहरूसँग सम्पत्तिको वैधानिक लालपुर्जा रहेको र वर्षौंदेखि राज्यलाई नियमित करसमेत बुझाउँदै आएको बताएका छन् । कानुनी रूपमा स्वामित्वमा रहेको घरजग्गा तथा सम्पत्ति उचित मुआब्जा र क्षतिपूर्तिबिना हटाउन खोजिएको भन्दै उनीहरूले राज्यको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनीहरूले वीरगंजका सडक किनारमा रहेका घरधनी तथा व्यापारीको सम्पत्तिको उचित मूल्यांकन गरी न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन, संविधानप्रदत्त आवास र सम्पत्तिको मौलिक हकको रक्षा गर्न तथा वीरगंजवासीमाथि विभेद हुने निर्णय तत्काल सच्याउन माग गरेका छन् । माइतीघरमा प्रदर्शनकारीहरूले ‘न्याय देऊ, न्याय देऊ’ र ‘नेपाल सरकार वीरगंजवासीलाई न्याय र क्षतिपूर्ति देऊ’ जस्ता नारा लगाउँदै आफ्ना माग सार्वजनिक गरेका थिए ।
राज्यले नागरिकको वैधानिक सम्पत्तिको अधिकारलाई बेवास्ता गर्न नहुने अडान राख्दै उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् । वीरगंजका सडकपीडितहरूले अब न्याय र उचित क्षतिपूर्तिको सुनिश्चितताबिना पछि नहट्ने सन्देशसमेत दिएका छन् ।




























प्रतिक्रिया दिनुहोस् !