पथलैया (बारा), ११ कात्तिक । माछा बोकेको पिकअपभित्र लुकाएर अवैध रूपमा ओसारपसार गरिँदै गरेका करिब ८० हजार रुपैयाँ मूल्यका पटका बाराको पथलैया चेकपोइन्टबाट प्रहरीले बरामद गरेको छ । पटका ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान करिब ८ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोइन्टमा गरिएको सवारी जाँचका क्रममा पटका फेला परेको हो ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट माछा लोड गरी काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको पिकअप रोकेर जाँच गरेको थियो । सोही क्रममा माछाको लोडभित्र लुकाइछिपाइ राखिएका विभिन्न सात प्रकारका ६४ डिब्बा पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।
माछाको आडमा पटका ओसारपसार
प्रहरीका अनुसार बरामद पटकामध्ये पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन् । बरामद सामग्रीको कुल अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुई जना प्रहरी नियन्त्रणमा
पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ निवासी २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ निवासी २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद पटका र नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ । माछा ढुवानी गर्ने सवारीसाधनभित्र पटका लुकाएर ओसारपसार गरिएको घटनाले चेकपोइन्टमा हुने नियमित सवारी जाँचको महत्त्वलाई समेत उजागर गरेको छ ।

























प्रतिक्रिया दिनुहोस् !