सल्यान, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धि पन्त (हरि) ले सल्यानमा देखिएका विकास निर्माण, स्थानीय तहको अनियमितता, अवैध क्रसर सञ्चालन तथा प्रहरी–प्रशासनको भूमिकासम्बन्धी गुनासो सम्बोधन गर्न सम्बन्धित सरकारी निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
रास्वपाले असोज २० देखि २७ गतेसम्म सञ्चालन गरेको राष्ट्रव्यापी ‘हामी आउँदैछौँ’ अभियानका क्रममा सल्यान पुगेका सांसद पन्तले जिल्लाका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त गुनासोलाई सम्बन्धित निकायसम्म पुर्याउँदै समाधानका लागि पहल गरेका हुन् । अभियानको अन्तिम दिन असोज २७ गते उनले परम्परागत राजनीतिक कार्यक्रमभन्दा फरक शैलीमा सरकारी अधिकारीहरूसँग प्रत्यक्ष छलफल गराउँदै अभियानको समापन गरेका थिए ।
अभियानअन्तर्गत कालिमाटी, त्रिवेणी, कपुरकोट र छत्रेश्वरीलगायतका पालिकामा पुगेका पन्तसमक्ष स्थानीयले जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नहुँदा सामान्य समस्यासमेत समाधान गर्न कठिन हुने गरेको गुनासो गरेका थिए । उनीहरूले स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढेको, अवैध क्रसर सञ्चालन भइरहेको तथा यस्ता विषयमा प्रहरी र प्रशासनको भूमिका प्रभावकारी हुन नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
स्थानीयबाट उठेका प्रश्न र गुनासोलाई सम्बोधन गर्न सांसद पन्तले प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीलाई सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूसँग बैठक राखेर समस्याबारे स्पष्ट छलफल गर्न आग्रह गरेका थिए ।
सरकारी अधिकारीसँग प्रत्यक्ष सवाल–जवाफ
सांसद पन्तको पहलपछि जिल्ला प्रशासन कार्यालय सल्यानको बैठक कक्षमा प्रमुख जिल्ला अधिकारी केसीको अध्यक्षतामा सम्बन्धित निकायका प्रमुखहरूको सहभागितामा छलफल भएको थियो । बैठकमा स्थानीयस्तरमा देखिएका समस्या तथा सेवाप्रवाहसँग सम्बन्धित प्रश्न उठाइएका थिए ।
छलफलका क्रममा सम्बन्धित कार्यालयका प्रमुखहरूले उठेका प्रश्नको जवाफ दिँदै जिल्लाबाटै समाधान गर्न सकिने विषय तत्काल सम्बोधन गर्ने र जिल्लाको अधिकारक्षेत्रभन्दा बाहिरका विषय सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाएका थिए ।
बैठकमा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र बुढा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातली, नेपाल विद्युत् प्राधिकरणका प्रमुख नरेशदत्त रावल तथा भौतिक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सिद्धार्थ मिश्रलगायतको उपस्थिति थियो ।
स्थानीयका गुनासा सम्बन्धित अधिकारीसमक्ष पुर्याएर जवाफ माग्ने र समाधानका लागि प्रतिबद्धता खोज्ने उद्देश्यले गरिएको यो पहलले जिल्लाका सार्वजनिक सरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यद्यपि, बैठकमा व्यक्त प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छ भन्ने विषय भने आगामी दिनमा महत्वपूर्ण हुनेछ ।
उम्मेदवार छनोटदेखि संगठन निर्माणसम्म प्रशिक्षण
‘हामी आउँदैछौँ’ अभियानका क्रममा सांसद पन्तले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई संगठन निर्माण र उम्मेदवार छनोट प्रक्रियाबारे प्रशिक्षणसमेत दिएका थिए । कार्यक्रममा पार्टीको ‘क्यान्डिडेट क्लब’मा आबद्ध हुने चरणदेखि उम्मेदवार छनोटका विभिन्न प्रक्रियासम्मका विषयमा जानकारी दिँदै उनले स्थानीयका जिज्ञासालाई सम्बोधन गरेका थिए ।
पन्तले पार्टीको विधि र विधानभन्दा बाहिर गएर कसैले टिकट नपाउने स्पष्ट पार्दै कार्यकर्तालाई निष्पक्ष प्रक्रियाप्रति विश्वस्त रहन आग्रह गरेका थिए । उनले संगठन विस्तारलाई प्राथमिकता दिनुका साथै पार्टी र सरकारले गरेका सकारात्मक काम जनतामाझ पुर्याउन निर्देशन दिएका थिए । रास्वपाको स्थानीय निर्वाचनलक्षित अभियानअन्तर्गत आयोजित कार्यक्रममा जिल्लाको संगठनात्मक अवस्था, सम्भावित उम्मेदवार छनोट प्रक्रिया र स्थानीय समस्याबारे छलफल गरिएको थियो ।
अभियानमा रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपाली तथा नेता रामबहादुर केसी, खड्ग बुढा, लालबहादुर विकलगायतको सहभागिता थियो । सरकारी निकायसँग प्रत्यक्ष छलफल र संगठन सुदृढीकरणलाई सँगसँगै अघि बढाउँदै सांसद पन्तले सल्यानमा ‘हामी आउँदैछौँ’ अभियानको समापन गरेका छन् । अब स्थानीयले उठाएका समस्या समाधानका लागि बैठकमा गरिएका प्रतिबद्धता कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने विषयले यस पहलको प्रभावकारिता निर्धारण गर्नेछ । 

























प्रतिक्रिया दिनुहोस् !