जलेश्वर (महोत्तरी), २६ असोज । बडादसैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै चाडपर्वका बेला मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम तथा जात्रा सञ्चालन गर्दा स्वीकृत एकीकृत सुरक्षा योजनाको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्नेछ । साथै, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने तथा कार्यक्रमको सुरक्षाको पूर्ण जिम्मेवारी आयोजकले लिनुपर्ने व्यवस्था गरिएको छ । प्रशासनले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम राति १० बजेपछि सञ्चालन गर्न रोक लगाएको छ । उच्च आवाजमा डिजे तथा बाजागाजा बजाएर ध्वनि प्रदूषण गर्ने र अश्लील गतिविधि प्रदर्शन गर्ने कार्यसमेत निषेध गरिएको छ ।
त्यस्तै, पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ । चाडपर्वका बेला जुवातास, सट्टेबाजी तथा अवैध मदिराको कारोबार नगर्न पनि प्रशासनले आग्रह गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न र सडक आवागमनमा अवरोध नपुर्याउन सर्वसाधारणलाई सचेत गराइएको छ ।
छठ पर्वका अवसरमा नदी, पोखरी तथा अन्य जलाशयमा पूजा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ । बालबालिका र ज्येष्ठ नागरिकको उचित रेखदेख गर्न तथा मूर्ति विसर्जनको मार्ग स्थानीय प्रशासनसँगको समन्वयमा निर्धारण गर्नसमेत भनिएको छ । यसैगरी, अनलाइन वित्तीय ठगीबाट जोगिन ओटीपी र पासवर्ड गोप्य राख्न तथा सामाजिक सञ्जालमा भ्रामक सूचना र धार्मिक एवं साम्प्रदायिक सद्भाव बिगार्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न प्रशासनले आग्रह गरेको छ ।
चाडपर्व मनाउन घर वा पसल बन्द गरेर बाहिर जाँदा सुरक्षित ताल्चा लगाउन, देउँसीभैलो मर्यादित रूपमा सञ्चालन गर्न र मेला तथा उत्सवस्थलमा सरसफाइ कायम राख्न पनि सूचनामार्फत अनुरोध गरिएको छ । प्रशासनले चाडपर्वका अवसरमा हुन सक्ने सम्भावित दुर्घटना, अवाञ्छित गतिविधि तथा सामाजिक सद्भावमा पर्न सक्ने असर न्यूनीकरण गर्न जारी गरिएका निर्देशन पालना गर्न जिल्लावासीलाई आग्रह गरेको छ । 




















प्रतिक्रिया दिनुहोस् !