गौर (रौतहट), २१ असोज । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका ३७ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित टोलीले १० दिनसम्म सञ्चालन गरेको विशेष अभियानका क्रममा अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई खोजी गरी पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ३७ प्रतिवादीबाट कुल सात वर्ष दुई महिना २७ दिन कैद सजाय तथा दुई लाख ७३ हजार ७७७ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेकामध्ये विभिन्न प्रकृतिका कसुरमा अदालतबाट दोषी ठहर भएका व्यक्ति छन् । उनीहरूमाथि जालसाजी, कुटपिट तथा अङ्गभङ्ग, विद्युतीय कारोबार ऐन, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग र अभद्र व्यवहारलगायतका मुद्दा रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पक्राउ परेकामध्ये लेनदेन बिगो, बाल शोषण, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योग र चेक अनादरसहितका मुद्दामा अदालतबाट फैसला भएका प्रतिवादीसमेत रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबै ३७ जनालाई कसुरअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला अदालत रौतहट, गौरमा बुझाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।
प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी र पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ । अदालतको फैसला कार्यान्वयन विशेष अभियानले दोषी ठहर भइसकेपछि पनि फरार रहेका व्यक्तिमाथि निगरानी र कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउने प्रहरीको भनाइ छ । 


















प्रतिक्रिया दिनुहोस् !