वीरगंज (पर्सा), २९ भदौ । वीरगंजस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो) प्रकरणमा पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल धरौटी बुझाएर रिहा भएका छन् । सोमबार साँझ अध्यक्ष यादवले २५ हजार रुपैयाँ र इन्स्पेक्टर पौडेलले १८ हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन् । उनीहरूसँगै क्यासिनो प्रकरणमा पक्राउ परेका अन्य ६ जना पनि धरौटीमा छुटेका छन् ।
पक्राउ परेका चन्दन सहनी, ओमप्रकाश बैठा र क्यासिनो कर्मचारी जयदेव साहले जनही १५ हजार रुपैयाँ धरौटी बुझाएका छन् । त्यसैगरी क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल र प्रदेशी साह जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
विशेष सुराकीपछि क्यासिनोमा प्रहरीको छड्के
नेपाली नागरिकलाई कानुनविपरीत क्यासिनो प्रवेश गराई जुवा खेलाउने गरिएको विशेष सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले गत शनिबार राति गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोनमा छड्के अप्रेसन गरेको थियो ।
प्रहरी टोलीले क्यासिनोमा छापा मार्ने क्रममा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यादव र इन्स्पेक्टर पौडेलसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो । घटनापछि उनीहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको थियो । सोमबार धरौटी रकम तोकिएपछि सबै ८ जना धरौटी बुझाएर रिहा भएका हुन् ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध
नेपालको प्रचलित कानुनले क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्न वा खेलाउन पूर्ण रूपमा निषेध गरेको छ । यही कानुनी व्यवस्थाविपरीत नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइएको सूचनाका आधारमा प्रहरीले अप्रेसन गरेको जनाएको छ ।
क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध हुँदाहुँदै स्थानीय तहका जनप्रतिनिधि र प्रहरी अधिकृतसमेत पक्राउ परेपछि घटनाले थप चासो उत्पन्न गरेको छ । धरौटीमा रिहा भएपनि घटनासम्बन्धी अनुसन्धान र कानुनी प्रक्रिया भने अघि बढ्ने प्रहरी स्रोतले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !