वीरगंज (पर्सा), २७ भदौ । वातावरण संरक्षण तथा धार्मिकस्थलको सौन्दर्यीकरणलाई प्राथमिकता दिँदै पर्सागढी नगरपालिका–५ हर्दियास्थित मन्दिर परिसरमा चौतारी पार्क निर्माण गरिएको छ । वन डिभिजन कार्यालय पर्साको वार्षिक कार्यक्रमअन्तर्गत १६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको चौतारी पार्कको उद्घाटन सवैया साझेदारी वन उपभोक्ता समितिका उपाध्यक्ष, पर्सागढी नगरपालिकाका नगरसभा सदस्य तथा पूर्ववडा अध्यक्ष असलम आलमले गरेका हुन् ।
पार्क उद्घाटनका क्रममा सार्वजनिक तथा धार्मिकस्थलको संरक्षण, नियमित सरसफाइ र हरियाली प्रवद्र्धनमा यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताइएको थियो । धार्मिकस्थलमा आउने श्रद्धालु तथा स्थानीयवासीका लागि विश्राम गर्ने र केही समय बिताउने उपयुक्त स्थानका रूपमा समेत पार्क उपयोगी हुने अपेक्षा गरिएको छ ।
स्थानीय तहमा धार्मिक तथा सार्वजनिक क्षेत्रको संरक्षणसँगै वातावरणमैत्री संरचना निर्माणको आवश्यकता बढिरहेका बेला चौतारी पार्क निर्माणले हर्दियाको मन्दिर परिसरको सौन्दर्य थप बढाउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रममा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशप्रसाद यादवसहित आमोदिन हवारी, वीरेन्द्र तिवारी, मनमोध यादवलगायत स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।







प्रतिक्रिया दिनुहोस् !